मालेका महासचिव मैनाली दुर्घटनामा

महोत्तरी, १५ फागुन : नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते हुनुभएको छ । भाइको छोरीको विवाहमा गृह जिल्ला गएर काठमाडौँ फर्कदै गर्दा नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते हुनुभएको हो ।

नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दुर्घटनामा परी नेता मैनाली, उहाँका ३० वर्षीय छोरा सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिनुभयो । घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पु¥याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उहाँकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

नेता मैनाली बिहान बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान ५ः१५बजे काठमाडौँका लागि हिँड्नुभएको थियो ।

अवस्था खतरामुक्त

मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

“अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ”, चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन ।” मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिनुभयो । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँका अवस्था सामान्य देखिएको छ । “अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि उहाँहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो । अहिले अस्पतालमा मालेका नेता कार्यकर्ताको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.