कपिलवस्तु घटनाका पीडितले राहत नपाएको गुनासो

कपिलवस्तु, ३१ भदौ : कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय नेता अब्दुल मोहिद खानको मृत्युपछि चन्द्रौटालगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किंदा ठूलो जनधनको क्षति भएको थियो ।

कपिलवस्तु घटना पीडित सङ्घर्ष समितिका अध्यक्ष महादेव पोख्रेलले घटना भएको ११ वर्ष बित्दा पनि आजसम्म पीडितले राहत नपाएको बताउनुभयो । उक्त घटनामा १४ जनाको हत्या, एक हजार ५६ घर तथा पसलमा तोडफोड, आगजनी र लुटपाट, २५६ बढी सवारी साधनमा आगजनी गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न तत्कालीन सरकारले पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा गठन गरेको आयोगले प्रतिवेदन पनि बुझाइसकेको छ । आयोगले सवारी साधन बाहेक करीब रु २० करोड बढी क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । घटनापीडित सङ्घर्ष समितिले रु ५० करोडको क्षति भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.