भीमसेनको मन्दिर पुनःनिर्माण हुने
ललितपुर, ३० भदौ : विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फकोे भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुनःनिर्माण हुने भएको छ ।
विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो ।
भारतीय सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको तीन वर्ष बित्दासमेत काम अघि नबढेकाले स्थानीय व्यापारी र टोल सुधार समिति आफैँले मन्दिर निर्माणमा केही समयदेखि चासो देखाएका उक्त सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो ।
केही दिन पहिले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी स्थानीयवासीले नै लिने भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली दूतावास पुगेको थियो ।स्थानीयवासीले बनाउँदा भारत सरकारलाई आपत्ति नहुने दूतावासको प्रतिक्रिया आएको उहाँले जानकारी दिनुभयो । भारतीय सहयोगमै पुनःनिर्माणका लागि सबै प्रक्रिया पु¥याउँदा पनि १४÷१५ महिनाअघि पुनःनिर्माण हुनसक्ने अवस्था नरहेको र छिटै पुनःनिर्माण नहुँदा थप भौतिक क्षति हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
क्षतिग्रस्त मन्दिरका कारण स्थानीयवासी र सवारी साधन चालकले समेत दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । उत्तरी भागमा काठले मन्दिरलाई अड्याइएको छ । सवारी साधन आगमन र यात्रुको आवतजावत धेरै हुने यो सडकमा काठका कारण यात्रु सजिलै हिँड्न नसकेको स्थानीयवासी सतिश महर्जनले बताउनुभयो । साना नानी यही सडक भएर विद्यालय जान्छन् । उहाँले भन्नुभयो, “मन्दिर बनाउन ढिला गर्दा दुर्घटनासमेत हुन सक्छ ।”
मन्दिर भत्काउनु अघि गत मङ्गलबार क्षमापूजा गरिएको थियो । मन्दिर कुन तलासम्म र कुन कुन भाग बनाउने टुङ्गो लगाएर मात्रै काम थालिने र मन्दिरमा भएका कलात्मक वस्तुको विवरण पनि तयार गरिने भएको छ ।
मन्दिर कसरी बनाउने भन्ने अन्तिम टुङ्गो लाग्न बाँकी रहेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । मन्दिर जीर्ण बन्दै गएकाले पनि स्थानीयवासीले भीमसेन मन्दिर चाँडो निर्माण होस् भन्ने चाहेका छन् ।
उक्त सङ्घको अगुवाइमा ललितपुर महानगरपालिका, मङ्गल टोल सुधार सङ्घलगायत पाटनका सम्पूर्ण जातीय सङ्घ, अन्य व्यावसायिक सङ्घसमेत मन्दिर पुनःनिर्माणका लागि सहभागी भएका र यसका लागि रु चार करोड ८१ लाख लाग्ने अनुमान गरिएको छ ।
मल्लराजा श्रीनिवास मल्ले विसं १६८० मा निर्माण गरेका यो मन्दिर तीन तलाको छ । भीमसेनलाई र बहादुर र बलवान् देवताका रूपमा पुजिन्छ । यो मन्दिरलाई नेपाली वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ ।