नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
काठमाडौँ २२ माघ : नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । मुटुसम्बन्धी रोगबाट ग्रसित शर्मालाई पछिल्लो समय रक्तचाप र पिसाबमा समेत समस्या देखिएपछि पाँच दिनअगाडि उपचारका लागि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएकोमा मङ्गलबार उक्त अस्पतालमा ल्याइएको थियो ।
नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहनुभएका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहनुभएको थियो । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उहाँ पहिलो प्रस्तोता रहनुभएको थियो ।
विसं २००४ जेठ १४ गते इलामको फिक्कलमा जन्मनु भएका शर्माले गोरखापत्र दैनिकको संवाददातको रुपमा पत्रकारिता शुरु गर्नुभएको थियो । शर्माले रेडियो नेपाल हुँदै नेपाल टेलिभिजनमा स्थापनाकालदेखि नै आवद्ध रही महाप्रबन्धकको जिम्मेवारी वहन गर्दै नौ वर्षअगाडि टेलिभिजनबाट अवकास लिनुभएको थियो ।
तत्पश्चात् एभिन्यूज, माउन्टेन टेलिभिजनलगायतमा आवद्ध रहेर काम गर्नुभएका शर्माले पछिल्लो समय साहित्य क्षेत्रमासमेत कलम चलाउनु भएको थियो । उहाँद्वारा लिखित ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित भएका छन् ।
उहाँ टेलिभिजनका अगुवाका रुपमा चिनिनुहुन्थ्यो । उहाँ रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसक्नुभएको छ । शर्माको श्रीमती र दुई छोरा हुनुहुन्छ । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो ।
