धरानका पूर्वप्रमुख राईको निधन
इनरुवा, ६ माघ : तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।
अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताउनुभयो । प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा हुनुहुन्थ्यो । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उहाँलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उहाँ विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित हुनुभएको थियो ।
प्रमद्वारा पूर्व नगर प्रमुखकोे निधनमा समवेदना
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिनुभएका राई २०४९ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
को हुन् ध्यानबहादुर ?
सरल, मिलनसार र प्रभावशाली नेता मानिने ध्यानबहादुर राई २०३५ सालदेखि नै अनेरास्ववियु पाँचौमा रहेर विद्यार्थी राजनीतिमा लागेका थिए ।
उनी अखिलका केन्द्रीय सदस्य थिए । पञ्चायत शासनविरुद्धको विद्यार्थी आन्दोलनमा उनको अग्रपंक्तिमा सक्रियता रहेको थियो ।
उनी धरानका पहिलो निर्वाचित मेयर समेत हुन् । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भएसँगै २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी मेयरमा निर्वाचित भएका थिए । जतिबेला उनी ३० वर्षको मात्र थिए ।
धरानलाई आधुनिक सहर बनाउने सवालमा उनको महत्वपूर्ण योगदान रहेको छ । उनकै डिजाइन अनुसार आजको धरान बनेको जानकारहरुको भनाइ छ ।
नेकपा एमालेको ५औं देखि ७औं महाधिवेशनसम्म उनी महाधिवेशन प्रतिनिधि भएर महाधिवेशनमा भाग लिएका थिए । आठौ महाधिवेशनमा उनी केन्द्रीय समितिमा चुनाव लडे पनि पराजित भएका थिए ।
२०५४ सालमा एमाले फुटेर माले हुँदा उनी मालेमा लागेका थिए । एमाले माले मिलेपछि उनी एमाले निकट किरात राई लोकतान्त्रिक संघको संस्थापक महासचिव भएका थिए र पछि पुनः अध्यक्ष पनि भए ।
एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईको नेतृत्वमा पार्टीभित्र पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीका विषयलाई लिएर अन्तरसंघर्ष गर्दै अन्नतः संघीय समाजवादी पार्टीमा होमिएका थिए।
जतिबेला उनलाई केन्द्रीय निर्वाचन समितिको सचिव बनाइएको थियो । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग एकता भएर संघीय समाजवादी फोरम नेपाल भएपछि उनी केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव भएका थिए । र डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग एकता भएर समाजवादी पार्टी बनेपछि उनी केन्द्रीय सदस्य मात्र थिए ।
ध्यानबहादुर राईसँग लामो समय संगत गरेका समाजवादी पार्टीका केन्द्रीय सदस्य राजकुमार राईले ध्यानबहादुर डाइनामिक नेता भएको बताए ।
‘मैले उहाँसँग धेरै सहकार्य गरेँ, उहाँ एउटा डाइनामिक व्यक्ति हो,’ सार्वजनिकसँग उनले भने, ‘उहाँ राजनीतिमा भिजन भएको, मिलनसार नेता पनि हो । आजको आधुनिक धरान उहाँकै डिजाइन अनुसार विकास भएको हो ।’
