प्रदेश नं ३ को राजधानी हेटौँडा
हेटौँडा, २७ पुस : आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौँडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।
यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गर्नुभयो भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाउनुभयो ।
भौतिक संरचना र सुरक्षाको संवेदनशीलताका लागि मकवानपुरको हेटौँडा राजधानी उपयुक्त : मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीका लागि टुङ्गो लगाउने क्रममा भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर मकवानपुरको हेटौँडालाई रोज्नुपर्ने यर्थाथता रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले प्रदेशसभाको आज बसेको पहिलो बैठकमा उहाँले हिजो ३ नं प्रदेशको राजधानी हेटौँडालाई नै बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि छलफल हुँदा सदस्यहरुले उठाउनुभएको विभिन्न जिज्ञासाहरुको आज उत्तर दिँदै जनताको आधारभूत विकासलाई प्रदेश सरकारले निष्पक्षका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संविधानको मर्मलाई आत्मसमीक्षा गरी प्रदेशसभाको स्वतन्त्रतामाथि कुनै प्रकारको अङ्कुश लगाउन नखोजिएको उल्लेख गर्दै सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउन र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर राष्ट्रिय गौरवका आयोजनाहरु पनि सञ्चालन गर्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले दोलखा, रामेछाप, रसुवा जिल्लाबाट आउने जनप्रतिनिधि र समाजसेवीलाई अब प्रदेश नं ३ को राजधानी हेटौँडामा आवतजावत गर्न हेटौँडा–भीमफेदी सुरुङमार्ग, काठमाडौँ–निजगढ जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअनुसार प्रक्रिया शुरु गरिसकेको र चालु आवभित्र हेटौँडाबाट काभ्रेको पनौती जोड्ने ५८ किलोमिटर सडकलाई पनि निमार्ण गर्ने प्रक्रियाको पाइपलाइनमा राखिएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले हेटौँडामा अन्तर्राष्ट्रिय खेलकूदस्तरको कभर्ड हल तालीम केन्द्र र खेलकूद मैदानको निमार्ण कार्य अन्तिम चरणमा पुुगेको उल्लेख गर्दै नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक संरचना तयार भइरहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले एक प्रश्नको उत्तरमा काठमाडौँको राजधानीसँग जोडिएको काभ्रेको धुलिखेललाई प्रदेशको नयाँ राजधानी स्थापना गर्ने सोच र चिन्तनलाई परिवर्तन गरी अब जनप्रतिनिधि, प्रदेश सरकार र प्रदेशसभाका सदस्यहरुको आफ्नो भूमिकालाई निष्क्रिय पार्न नहुनेतर्फ आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ भन्नुभयो ।
सोही बैठकमा विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई प्रदेशको राजधानी बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि उठेको शङ्का–उपशङ्कालाई आज जवाफ दिँदै जनघनत्व, भूगोल र सडक सञ्जालले समेटिएको धुलिखेललाई राजधानीका लागि प्रस्ताव गरिँदा आफ्नो कुनै स्वार्थ र राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्य नरहेको बताउनुभयो ।
उहाँले प्रदेशसँग जोडिएका केही जिल्लाहरुलाई तत्कालै मकवानपुरको हेटौँडामा आउन यातायात क्षेत्रको असुविधाले कठिनाइ उत्पन्न भएकाले प्रदेशको राजधानीको नयाँ संरचना स्थापना गर्न नयाँ सोच चिन्तनका साथ अघि बढ्नुपर्ने आफूले चाहेको बताउनुभयो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको र आज सञ्चालन भएको बैठक ३ घण्टा १८ मिनेटको समय व्यथित भएको थियो । प्रदेशसभाको बैठक पुस २१ गतेदेखि सञ्चालन भई आज दिउँसोसम्ममा स्थगित गरिएको थियो ।
प्रदेशसभामा कूल ११० जना सदस्य हुनुहुन्छ । सत्तारूढ नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एकजना स्वतन्त्र सांसद हुनुहुन्छ ।
राजधानी हेटौँडा तोकिनु प्रदेशवासीका लागि खुशीको कुरा होः मुख्यमन्त्री
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले स्थायी राजधानी र नामकरण ढिलो भए पनि प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।
प्रदेश राजधानी र नामकरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री पौडेलले सिङ्गो नेकपा तथा प्रदेशका नेकपाका सदस्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रदेशसभामा सहभागी दल नेमकिपा, राप्रपालगायत सबै दलको साथ सहयोग प्राप्त भएको बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)लाई आज प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले स्थायी राजधानी हेटौँडा तोकिनु मकवानपुर वा हेटौँडाका लागि भन्दा पनि प्रदेशवासी सबैका लागि खुशीको कुरा हो भन्नुभयो । “आजको घोषणाले हेटौँडावासीलाई बढी उत्साहित बनाएको हुन सक्छ त्यो स्वाभाविक पनि हो, यसमा खुशी हुनु पनि पर्छ तर धेरै उच्छृङ्खल हुनु हुँदैन”, उहाँले भन्नुभयो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौँडा बनाइनुपर्ने पक्षमा प्रदेशसभाका सबै सदस्यको मत रहेछ भन्ने देखिएको बताउनुभयो । उहाँले हेटौँडा प्रदेशको ऐतिहासिक स्थान हो, थियो र अझै पनि रहेछ भन्ने कुरा आजको नतिजाले देखाएको बताउनुभयो ।
प्रदेशको राजधानी हेटौँडा भएकामा नेकपा नेता तथा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले खुशी व्यक्त गर्नुभएको छ । सभापति दाहालले हेटाँैडा राजधानी घोषणा भएसँगै जनमानसको अन्योल समाप्त भएको बताउँदै भन्नुभयो, “अब हेटौँडालाई महत्वपूर्ण अवसर प्राप्त भएको छ । सबैको सामूहिक प्रयासको सफलता हो यो, हामी सबै मिलेर आगामी दिनमा हेटौँडालाई राजधानीलायक बनाउन धेरै काम गर्न बाँकी छ ।” संविधानसभा सदस्य अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडा तोकिनु मकवानपुरवासीका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११० सदस्यमध्ये एक जनाले संसद्मा उपस्थिति जनाउनुभएको थिएन । सभामुखबाहेक १०८ प्रदेशसभा सदस्य प्रदेशको नामकरणका लागि भएको मतदानमा सहभागी हुनुभएको थियो । सबै सदस्यले प्रदेशको नाम वाग्मती राखियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गरेका थिए । हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका लागि भएको मतदानमा हेटौँडाको पक्षमा १०५ र विपक्षमा तीन मत परेको छ । काभ्रेपलाञ्चोकको धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका पक्षमा तीन र विपक्षमा १०१ मत परेको थियो । काभ्रेका चार प्रदेशसभा सदस्यले धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत जाहेर गरेका थिएनन् ।
हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्न ‘ह्वीप’
प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस एकमत देखिएका छन् ।
ती दलका आज बिहान यहाँ बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौँडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीपसमेत जारी गरेका छन् ।
प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र काँग्रेसले ह्वीप जारी गरेका हुन् ।
नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिनुभएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो ।
काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्ने जानकारी दिनुभयो ।
