पाँच हजार व्यक्ति अटाउने सिटीहल बनाइदैं

चितवन, २८ भदौ : भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको नेपाली काँग्रेसले विरोध गरेपछि सर्वदलीय सहमतिमा गेष्ट हाउस चौरमा सिटीहल निर्माण गर्ने सहमति भएको हो । सो ठाउँमा यसअघि शहीद मञ्च निर्माण गर्ने भन्दै शिलान्यास गरिएको थियो । मञ्च निर्माणको काम अधुरै रहेपछि सिटीहल बनाउन लागिएको हो ।

भरतपुर महानगरपालिकाले शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सिटीहल निर्माण गर्न लागेको हो । गेष्टहाउस चौर जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलबीच गेष्ट हाउस चौरमा अन्तर्राष्ट्रियस्तरको सिटीहल बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिटीहल गेष्ट हाउस चौरमा बनाउने सहमति भएको छ ।” भरतपुर महानगरपालिका, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस तथा जिल्ला समन्वय समितिका प्रमुख एवं प्रतिनिधिको बुधबार सम्पन्न बैठकले सिटीहल गेष्ट हाउस चौरमा बनाउने निर्णय गरेको हो । प्रमुख दाहालका अनुसार पाँच हजार व्यक्ति अटाउने सिटीहल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउने छ । सिटीहल निर्माणका लागि रु ५० करोड बजेट निकासा भइसकेको छ ।

महानगरले बनाउन लागेको सिटीहल देशकै नमूना बन्ने महानगर उपप्रमुख पार्वती शाहले बताउनुभयो । गेष्ट हाउस चौरमा चार बिघा दश धुर जग्गा छ । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ अस्पतालको जग्गामा सिटीहल निर्माणको विरोध गरिएपनि वैकल्पिक जग्गा खोजी गरी गेष्ट हाउस चौरमा सिटीहल निर्माण गर्न सहमति गरिएको बताउनुहुन्छ । उहाँले विकास निर्माणका काममा महानगरलाई सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.