वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ
काठमाडौँ, ९ पुस : वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
धादिङ घर भई ललितपुर बस्ने सुमन भन्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले रु १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ । काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ ।
यसैगरी, काठमाण्डौको रत्नपार्क एरियामा अपराधिक प्रबृतिका ब्यक्तिहरुको सूचना संकलन गरी निग्रानी राख्न यस महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोक जिल्ला लिशंखुपाखर गा.पा. वडा नं. ३ चिप्ले घर भई हाल असन बस्ने ३० बर्षिय कुमार श्रेष्ठलाई शंकास्पद अबस्थामा पक्राउ गरेको छ ।
सोधपुछ गर्न लाग्दा प्रहरीमाथी हातपात गरी अभद्र ब्यबहार गरी भाग्न लागेको अबस्थामा निजलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजको साथबाट सिरियल नम्बर 672YZEG886 र मोडेल नं. AZH25KDC9AA3 भएको MOTOROLA कम्पनिको GP 328 लेखिएको कालो रङको ह्याण्ड सेट थान-१ समेत फेला पारी बरामद गरी निजलाई पक्राउ गरी अभद्र ब्यबहार गर्न नहुने कसूरमा अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
अनुसन्धानको क्रममा निजसंग सोधपुछ गर्दा आफ्नो साथबाट फेला परेको मोटोरोला कम्पनिको सेट ICCL हाईड्रोपावर सोलुखुम्बुको चितवनमा रहेको स्टोरमा सेक्युरिटी गार्डको काम गर्दा आफूले लिई गार्डको काम छाडेको भनि बताएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।
