मध्यमोदीको निर्माण ठप्प

पर्वत, २६ भदौ  स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना दुई दिनदेखि ठप्प भएको छ ।

स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् । बम विस्फोट गर्दा स्थानीयवासीको १६ घरमा क्षति भएको बताएका छन् ।

मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन जलविद्युत् आयोजनामा बम विस्फोट गर्दा घरहरु भत्किन थालेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासनमा समेत जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नु परेको स्थानीयवासी मेघराज ढुङ्गानाले बताउनुभयो ।

ठाना, कल्लेनी र ओख्लेमा घरहरु भूकम्पको झँै भत्किन थालेपछि स्थानीवासीले जलविद्युत् आयोजनाको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै आयोजना ठप्प बनाएका हुन् । स्थानीयवासी रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल र रामबहादुर खत्रीको घर पूर्णरुपमा क्षति भएको स्थानीय सङ्घर्ष समितिका संयोजक सुजन पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी लक्ष्मीबहादुर खत्री, होम शर्मा, भगवती जैसी, राधिका शर्मा, खडानन्द जैसी र गोविन्द जैसीको घरमा समेत क्षति पुगेको र अन्य दर्जन घरमा आंशिक क्षति भएको उहाँको भनाइ छ । स्थानीयवासीले आवास निर्माण वा घरबारको क्षतिपूर्तिको माग गरेका छन् । आफूहरुको माग सुनुवाइ नभए चरणबद्धरुपमा आन्दोलनमा जाने संयोजक पोखरेलले जानकारी दिनुभयो ।

आयोजनाप्रमुख निरञ्जन राउतका अनुसार उनीहरुको घरमा क्षति पुगेको आयोजनाका कारण नभई ७२ को भूकम्पका कारण भएको हुनसक्ने बताउनुभयो । उहाँले आयोजनाले क्षति पु¥याएको हो वा अन्य कारणले हो भन्ने कुरा विशेषज्ञ ल्याएर नै चेकजाँच गर्नुपर्ने बताउनुभयो ।

आयोजनाप्रमुख राउतका अनुसार स्थानीयवासीले मुआब्जा थोरै भएको भन्दै अहिले आएर अवरोध गर्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार काम सञ्चालन गर्ने वातावरण बनाइदिनका लागि स्थानीय मोदी गाउँपालिका र जिल्ला प्रशासनसँग अनुरोध गरिएको र एक–दुई दिनमा समस्या सुल्झिने विश्वास व्यक्त गर्नुभयो ।

चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलब एक मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको झण्डै ६० प्रतिशत निर्माण कार्य पूरा भएको छ । २०७१ मङ्सिर ७ गतेदेखि निर्माण शुरु गरेको आयोजनाले काम तीव्र रुपमा भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.