अनुसन्धानकर्ता र अभियोजनकर्ताको सम्मेलन हुँदै
काठमाडौँ, २ पुस : अनुसन्धानकर्ता र अभियोजनकर्तालाई एकै थलोमा राखी अपराध अनुसन्धान र अभियोजनमा सुधार गर्ने उद्देश्यका साथ यही पुस ४, ५ र ७ गते दोस्रो सम्मेलन हुने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुलुकी अपराधसंहिता समेतका फौजदारी कानून र अन्य कार्यविधि कानूनको कार्यान्वयनको प्रभावकारिता मूल्याङ्कन गरी नयाँ कानूनको प्रभावकारी कार्यान्वयन गर्नाका साथै अनुसन्धान र अभियोजनको क्षेत्रमा सुधार गर्ने सम्मेलनको साझा उद्देश्य रहेको छ ।
‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहार ः निष्पक्ष, अनुसन्धान र अभियोजन, न्यायको आधार’ भन्ने नाराका साथ तय भएको सम्मेलनमा अनुसन्धानकर्ता प्रहरी अधिकृत ३२०, अभियोजनकर्ता सरकारी वकिल २७०, पर्यवेक्षक तथा विज्ञ ३५ गरी जम्मा ६२५ सहभागि हुने तय भएको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले सम्मेलनले फौजदारी संहिता कार्यान्वयनको अवस्था, विगतको समीक्षा र आगामी दिनमा अगाडि बढ्ने कार्यदिशा तय गर्ने जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकिलबीच सहज र असहज के कस्ता सम्बन्ध रहे भन्ने समीक्षा गरी वस्तुनिष्ठ र वैज्ञानिक अनुसन्धानका लागि सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
