उपनिर्वाचनको तयारी पूरा, मतदान बिहान ७ बजेदेखि
काठमाडौँ, १३ मङ्सिर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि शनिवार उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गर्नुभएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकिकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।
कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ भने बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आयोगले भनेको छ, “आफूले रोजेको उम्मेदवारलाई अमूल्य मतदान गरी लोकतन्त्रको जगलाई बलियो बनाउने कार्यमा सरिक हुन समस्त मतदातामा हार्दिक अपील गर्दछौँ ।”
तस्वीरसहितको परिचयपत्रले मतदान गर्न सकिने
प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रृटि पाइएमा सानोतिनो भुलचुक मानी सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जानकारी दिएको छ ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्षका लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वासनीय तुल्याउन आयोगले आम मतदाता, उम्मेदवार, राजनीतिक दलसहित सरोकारवाला सबै पक्षसँग सहयोगका लागि अपिल गरेको छ ।
