संविधानको मर्मअनुरुप गोपनीयताको कानून बनाउनुपर्ने
काठमाडौँ, २४ भदौ : संविधानको मूल मर्मअनुरुप गोपनीयता हकसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरु दिलेन्द्र बडू, शेरबहादुर तामाङ, नवराज सिलवाल, प्रेम सुवाल र कृष्णभक्त पोखरेलले संविधानको मूल मर्मअनुसार गोपनीयताको हकसम्बन्धी कानून निर्माण गर्नुपर्ने धारणा राख्नुभएको हो ।
नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २८ लाई कार्यान्वयन गर्न तीन वर्षभित्र कानून बनाएर लागू गर्नुपर्ने व्यवस्थाअनुरुप गोपनीयताको हक कार्यान्वयन गर्न ऐन बनाउन लागिएको हो । सो ऐनलाई अन्तिम रुप दिनका लागि सो समितिमा दफावार छलफल भइरहेको छ ।
गोपनीयताको हकमा कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पति, लिखत तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानूनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनी व्यवस्था गरिएको छ । सोही मर्मलाई ध्यान दिएर कानून निर्माण गर्नका लागि समितिमा दफावार छलफल शुरु भएको हो ।
कानून आयोगका अध्यक्ष माधव पौडेलले राज्यको नागरिकको गोपनीयताको हकको संरक्षण गर्नका लागि निर्माण हुन लागेको कानून भएको उल्लेख गर्दै समान्य नागरिक र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि पनि यो हक लागू हुने धारणा राख्नुभयो ।
समितिमा गोपनीयताका विषयमा नागरिकको राहदानी, धर्म, सम्पति, रगत समूहजस्ता विषयमा गोपनीयता हुने कि नहुने भन्ने विषयमा छलफल जारी छ । सोमबार पुनः दिउँसो १ बजे बैठक बसी दफावार छलफल हुनेछ । समितिका सभापति मीना पाण्डेले प्रत्येक दफा दफामा छलफल गर्नु जरुरी भएको हुँदा सोमबार पुनः बैठक बसी दफावार छलफल हुने जानकारी दिनुभयो ।
नेपाल कानून आयोगले तयार गरेको विधेयकको नमूना दुई महिना अघि नै गत असार २४ गते सार्वजनिक गरेको थियो । अहिलेसम्म गोपनीयतासम्बन्धी कानून थिएन । पहिलो पटक नेपालमा गोपनीयतासम्बन्धी ऐन बन्न लागेको हो ।
