रथी थापालाई राष्ट्रपतिबाट महारथीको दज्र्यानी चिन्ह

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा आइतबार आयोजित समारोहमा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुहुँदै । तस्वीर: प्रदीपराज वन्त

काठमाडौँ, २४ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराउनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित हुनुहुन्थ्यो ।

मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी तोकेकोे थियो ।

उहाँले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गर्नुभयो । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.