चोभारबाट पेस्तोल र गोलीसहित तीनजना पक्राउ
काठमाडौँ, २१ कात्तिक : नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार अमेरिकन पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिले गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले देवेन्द्र भण्डारी, सुमन खड्का, मनोजकुमार बस्नेतलाई बल्खुबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँगै बा १७ च ८३६४ नम्बरको महेन्द्रा गाडीसहित पक्राउ गरेको हो । प्रहरीले कीर्तिपुरस्थित सुमन खड्काको घरमा इँटाले छोपी लुकाइराखेको अवस्थामा पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा गोली फेला पारेको हो ।
