सम्मेलनका विषयमा कूटनीतिक नियोगसँग परामर्श
काठमाडौँ, ५ कात्तिक : राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा हुन गइरहेको आप्रवासी कामदारसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको जानकारी गराउने उद्देश्यले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र विकासका साझेदारसँग छलफल गरेको छ ।
यही कात्तिक २६ देखि २८ गते (सन् २०१९ नोभेम्बर १२ देखि १४) सम्म आयोजना हुन लागको सम्मेलनका बारेमा कूटनीतिक नियोगका प्रमुख, प्रतिनिधि तथा विकास साझेदारसँग छलफल गरेको हो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको मानव अधिकारको संरक्षणमा आयोगबाट भएका प्रयासका बारेमा जानकारी गराउँदै कतार र कोरियासँग आयोगले सम्झौता गरिसकेको र मलेशियासँग सम्झौता गर्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।
आप्रवासी कामदारको विषय अन्तरदेशीय विषय भएकाले आप्रवासन व्यवस्थापनमा उत्पत्ति मुलुक, बाटोमा पर्ने मुलुक र गन्तव्य मुलुक सबैको चासोको विषय बनेको उहाँले धारणा राख्नुभयो । अध्यक्ष शर्माले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि कूटनीतिक नियोग तथा विकासका साझेदारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
सम्मेलनका संयोजक तथा आयोगका सदस्य सुदीप पाठकले सम्मेलनमा आप्रवासी कामदारको जिम्मेवार, भर्ना प्रक्रिया, अनियमित आप्रवासन, आप्रवासी कामदारको न्यायमा पहुँचको सुनिश्चितताका विषयमा छलफल भई काठमाडौँ घोषणापत्र जारी हुने जानकारी दिनुभयो ।
सो क्रममा विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले आयोगले सम्मेलनको आयोजना गर्न लागेकामा खुशी व्यक्त गर्दै सम्मेलनमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उक्त छलफलमा नेपालस्थित जापान, जर्मन, इजरायल, अमेरिका, भारत, रसिया, अष्ट्रेलिया, कतार, बङ्गलादेश, श्रीलङ्का, म्यान्मालगायतका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, युरोपियन युनियन, यूएनडीपी, आईएलओ, आईओएम, जाइकाका प्रमुख तथा प्रतिनिधि, आयोगका सहभागिता रहेको थियो ।
