महान्यायाधीवक्ताको कार्यालय भवन पुनःनिर्माण शुरु
काठमाडौँ, २० भदौ : भूकम्पबाट क्षतिग्रस्त महान्यायाधीवक्ताको कार्यालय भवनको पुनःनिर्माण कार्य द्रुत गतिमा शुरु भएको सो कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतसँग जोडिएको महान्यायाधीवक्ताको कार्यालयमा विसं २०७२ को भूकम्पबाट आंशिक क्षति भएकाले कार्यालय सञ्चालन गर्नु जोखिमयुक्त भएकाले उक्त भवन भत्काइ पुनःनिर्माण शुरु गरिएको महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिनुभयो ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार गएको जेठदेखि पुनःनिर्माण कार्य शुरु भएको पाँचतले भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
प्रवक्ता रेग्मीका अनुसार नेपाल सरकारको रु ८० करोडको लागतमा निर्माण सम्पन्न हुने सो भवनमा करीब २०० जना बस्ने क्षमता रहेको अडिटोरियम हल पनि हुनेछ ।
नेपालमा विसं २००८ मा स्थापना भएको महान्यायाधीवक्ताको कार्यालय स्थापना भएको हो । मुख्यरुपमा नेपाल सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने उद्देश्यले स्थापित सो कार्यालय जनशक्ति व्यवस्थापन विभाग, योजना अनुसन्धान तथा अनुगमन विभाग, मानव अधिकार संरक्षण, कानूनी राय तथा सुशासन विभाग, मुद्दा व्यवस्थापन विभाग तथा उच्च सरकारी वकिल कार्यालय छन् ।