दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आगलागी

काठमाडौँ, २६ असोज : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आज साँझ लागेको आगो निभाइएको छ ।

विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका थिए । आगो निभाउन काठमाडौँ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

आगलागी भएको भवनको छैटौँ तल्लामा उक्त लाउन्जबार सञ्चालनमा थियो । लाउन्जमा आगोको ज्वाला उठेपछि दरबारमार्ग क्षेत्रमा सन्त्रास छाएको थियो । अग्नि नियन्त्रण र सुरक्षाकर्मीको प्रभावकारी प्रयासले आगो फैलिन नपाएका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो । आगो निभाउन पानी ओसार्न उपत्यकाका ठूलो स¬ङ्ख्यामा खानेपानीका टयाङ्करको प्रयोग गरिएको थियो । आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकसमेत घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.