गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार थापा सम्मानित

काठमाडौँ, ६ असोज : यस वर्षको ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकार गोविन्दबहादुर थापा सम्मानित हुनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई रु एक लाख ५१ हजार नगदसहित पत्रकार थापालाई सम्मान गर्नुभएको हो ।

यस्तै ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’बाट पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु एक लाख पाँच हजार रहेको छ ।

‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’बाट दैनिक नेपालगञ्ज बाँके सम्मानित भएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । यस्तै ‘भाषागत पत्रकारिता पुरस्कार’बाट मोहम्मद हसन मियाँ, सुनसरी सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ । यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारकारिता पुरस्कार’बाट अन्तरबोध साहित्यिक त्रैमासिक पुरस्कृत भएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ ।

यस्तै ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट राससकर्मी सीतारामप्रसाद बर्मासहित नौ जना पत्रकार रहनुभएको छ । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । राससकर्मी बर्मा धादिङलाई कर्मथलो बनाएर विगत लामो समयदेखि राससमा सेवा गर्दै आउनुभएको छ । सो पुरस्कारबाट सम्मानित हुनेमा नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शङ्कर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी हुनुहुन्छ ।

यस्तै ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट १० जना पत्रकार सम्मानित हुनुभएको छ । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । सो पुरस्कारबाट सम्मानित हुनेमा मीना तिवारी घिमिरे, अजयदीप शर्मा, अमर खड्का, करुण अर्याल, विधान श्रेष्ठ, निलीफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिङ्कु मिश्र हुनुहुन्छ ।

त्यस्तै काउन्सिलले प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कारबाट सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

त्यस्तै प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कारबाट विपुल पाण्डे पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.