त्रिदेशीय सीमाका नागरिक सञ्चारविहीन

नरेन्द्रसिंह कार्की । दार्चुला, २१ भदौ : व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्नुहुन्छ । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमात्र फोन लाग्छ मुस्किलले । नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने व्यासका स्थानीयवासी अहिले टेलिफोन नभएकै कारण समस्यामा छन् ।

झण्डै आठ/नौ महीनादेखि व्यासको वडा नं १ को छाङ्गरु र तिङ्करमा मोबाइल नेटवर्कले काम गरेको छैन । गत वैशाखमा कुञ्चा सरे पनि उनीहरुले राम्रोसँग फोन गर्न पाएका छैनन् । एक मात्र स्काई टावरमा हिउँदमा परेको हिमपातका कारण उपकरणमा क्षति पुगेपछि यो क्षेत्र सञ्चारविहीन बनेको हो ।

फोनलाइन नै नभएपछि यहाँका स्थानीयवासी, नेता तथा सरोकारवाला कार्यालयमा धाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा नेतृत्वका व्यासका राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा स्थानीयवासीले टेलिफोन सञ्चालन गर्न माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टलाई भेटी उनीहरुले व्यासका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित भएका गुनासो गरेका छन् ।

त्रिदेशीय सामरिक महत्व बोकेका क्षेत्रका स्थानीयवासी लामो समयदेखि सञ्चारविहीन हुन पुगेका छन् । यसका लागि पहल थालिदिन उनीहरुको माग छ । “व्यास क्षेत्रका नागरिक मात्र नभएर यो क्षेत्रमा भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासी पनि नेपालकै फोनका भरमा छन्”, स्थानीय ललितसिंह बोहराले भन्नुभयो । नागरिकले पाएको सेवासुविधाबाट बञ्चित हुँदा फोनको लाइन खोज्न डाँडाकाँडा चहार्नुपरेको छ । व्यासमा निर्माण गरिएको टावरमा गत वर्ष हिमपातका कारण सोलारपाता बिग्रिएका थिए ।
नेपाल टेलिकमको टावरमा भारी हिमपातका कारण क्षतिग्रस्त हुँदा टेलिकम प्राविधिक टोलीले टावर मर्मत गरी गत असार २५ गतेदेखि सञ्चालनमा ल्याएको थियो तर, फोनमा कुराकानी भने खासै हुन सकेन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङसहित प्राविधिकको टोली टावर मर्मतका लागि गत असार १७ गते हेलिकोप्टरमार्फत छाङरु पुगेको थियो । उहाँको टोलीले लामो प्रयास गरे पनि सुधार हुननसकेको स्थानीयवासीको गुनासो छ ।

दोस्रोपटक साउनमा पुनः टेलिकम क्षेत्रीय कार्यालय अत्तरिया र जिल्लाबाट टेलिकम टावर सञ्चालन गर्ने प्रयास गरे पनि उपकरणमा पुगेको क्षतिका कारण हुननसकेको बताइएको छ । टावरको अधिकांश उपकरण परिवर्तन गरेर नयाँ सेवासुविधा थप्ने गरी तयारी थालिएको टेलिकमका प्रमुख गुरुङले जानकारी दिनुभयो । गत वर्षसम्म सहजरूपमा उपलब्ध भइरहेको मोबाइल सेवा यो वर्ष प्रयोग नै गर्न नपाएपछि समस्यामा परेको वडाध्यक्ष अशोक बोहरा बताउनुहुन्छ । गाउँमा खबर गर्न मान्छे पठाउनुपर्ने अवस्था भइरहेको उहाँले बताउनुभयो ।

एक दशकअघि स्थापना गरिएको व्यासको टावरबाट छाङरु, तिङकरका साथै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाले पनि मोबाइल सेवा उपभोग गर्दै आएका थिए । सामान्य अवस्थामा व्यासको टावरबाट एकपटकमा ३५ ग्राहकले एकसाथ कुरा गर्ने क्षमता रहेको टेलिकमले जनाएको छ । स्काई फोनको सो टावरबाट हाल क्षमताभन्दा धेरै कम काम भइरहेको प्रमुख गुरुङले बताउनुभयो । टावरमा प्राविधिक समस्या आएको र ग्राहक सङ्ख्या धेरै भएकाले मोबाइल सम्पर्क गर्न असहज भएको उहाँको भनाइ छ ।

यस्तै यसपालिको अत्यधिक हिमपातले टावरमा धेरै क्षति भएको हो । टावरलगायतका उपकरणमा क्षति पुगेको टेलिकमले जनाएको छ । सौर्यऊर्जा प्रणालीमार्फत सञ्चालन भइरहेको व्यासको टावरमा ३२ मध्ये २४ सोलार प्यानल क्षतिग्रस्त भएका छन् । टेलिकमको स्काई टावरले काम नगर्दा सदरमुकामदेखि टाढाको बस्तीका स्थानीयवासी र आफन्तसँग सम्पर्क गर्न सकिएको छैन । अहिले टावरमा आठ सोलार प्यानल छन् ।

स्काई प्रविधिको व्यासको टावरमा क्षमता बढाउन नयाँ उपकरणको माग गरिएको गुरुङले बताउनुभयो । पछिल्लो समय दोस्रोपटक थप सामग्री माग गरिएको छ । हाल सेटेलाइट प्रविधिमार्फत व्यासको टावरबाट ६५० केभीपिएस क्षमताबाट सेवा दिइएको छ । नयाँ उपकरण जडान गरिएपछि दुई एमबीपिएस क्षमताबाट सेवा दिइने उहाँले बताउनुभयो । नेपाल टेलिकमले व्यास क्षेत्रको छाङरुमा नमस्ते मोबाइलको नयाँ टावरसमेत राख्ने गरी सम्भाव्यता अध्ययन गरेको छ ।

व्यासको टावरबाट हाल झण्डै एक हजार उपभोक्ताले सेवा लिइरहेको टेलिकम दार्चुलाको भनाइ छ । भौगोलिक विकटताले रेडियो लिङ्कमार्फत टावर सञ्चालन हुननसकेको र सेटेलाइटमार्फत लिङ्क गराएर व्यासको टावर एक दशकदेखि सञ्चालन हुँदै आएको थियो । मोबाइल टावरले प्रभावकारी काम नगर्दा व्यास क्षेत्रमा रहेको प्रहरी चौकीमा पनि सञ्चार सम्पर्क गर्न समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.