‘मुलुक रुपान्तरणमा युवाको भूमिका सशक्त बनाइनुपर्ने’ 

काठमाडौँ, २७ साउन : मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले राजधानीमा आजदेखि नेपाल युवा उद्यमशीलता सम्मेलन–२०१९ को आयोजना गरिएको छ । युवा उद्यमशीलता विकास गर्न आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

प्रदेश नं ३ सरकार, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका विविध आयामका बारेमा बहस पैरवी हुनेछ । सम्मेलनमा उद्यमशीलता विकासमा देखिएका चुनौती सम्बोधन गर्न सरकारका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा समेत छलफल हुनेछ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको सन्दर्भमा नेपालमै उद्यमशीलताको सम्भावना उजागार गर्ने विषयमा बहस हुने बताइएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न विषयवस्तुमा आधारित रहेर पाँच वटा सत्र सञ्चालन हुनेछ ।

सम्मेलनको आज एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले मुलुकको रुपान्तरणमा युवालाई जोड्न सरकारले नयाँ कामको थालनी गरेको बताउनुभयो ।

नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले श्रमको सम्मान गर्ने मानसिकताको विकास हुन नसक्दा युवा पलायन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा उद्यमशीलता विकासको ठूलो सम्भावना रहेको छ । विदेश पलायन हुने युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्न सबैको सहयोगको खाँचो रहेको छ ।”

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले युवा पलायन रोक्न तथा स्वदेशमै उद्यमशीलताको विकास गर्न सरकारले सहुलियत व्याजमा विभिन्न कर्जा उपलब्ध गराएको बताउनुभयो । उहाँले युवालाई उद्यमी बनाउन बीउ पूँजी अनुदान र व्यवसाय विस्तारका लागि सहुलियत व्याजमा कर्जा उपलब्ध गराउने प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

सरकार एक्लैको प्रयासबाट उद्यमशीलताको विकास हुन नसक्ने बताउँदै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको सहयोगको खाँचो औँल्याउनुभयो । सहुलियत कर्जा प्रवाहमा बाधक नबन्न वाणिज्य बैंकहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “सहुलियत कर्जा प्रवाह गर्न वाहना नगर्नुस्, सरकार हस्तक्षेपकारी हुन चाहँदैन, सामाजिक जिम्मेवारी वहन गर्नबाट पछि हटियो भने सरकार कठोर कदम चाल्न बाध्य हुनेछ ।”

प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले युवा उद्यमशीलता विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले उद्यम गर्ने सहज वातावरण निर्माण गर्न कानूनी तथा प्रक्रियागत जटिलता हटाइएको बताउनुभयो । उहाँले उद्योग स्वीकृतिदेखि दर्तासम्म एकै स्थानबाट शुरु गरिएको जानकारी दिँदै उद्योगमैत्री कानून निर्माणमा ध्यान केन्द्रित गरिएको बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यस वर्षलाई युवा परिचालन वर्ष घोषणा गरी कृषि, पर्यटन, सुशासन प्रवद्र्धन, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, सामाजिक विभेदका विरुद्धमा युवा अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले युवामा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिको रुपमा स्थापित गर्दै उनीहरुमा रहेको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । परिषद्ले उद्यमका सम्भावना पहिल्याउँदै बेरोजगार युवालाई सीप र पूँजी उपलब्ध गराई सम्भावनासँग जोड्ने काम गर्दै आएको उहाँको भनाइ थियो ।

आइएमई ग्रुपका सहसंस्थापक हेमराज ढकालले नेपालका दुई छिमेकीको समृद्धिबाट लाभ लिन सक्ने गरी नीति निर्माण गरिनुपर्नेमा जोड दिँदै उहाँले उद्यमका क्षेत्रमा रहेका सम्भावना पहिचान गर्न नसक्दा युवा उद्यमशीलता विकास हुन नसकेको बताउनुभयो ।

विशाल फाउण्डेशनका संयोजक विशाल गैरेले विकास र समृद्धिमा युवालाई जोड्ने नीति ल्याउनुपर्नेमा जोड दिँदै उद्यमीलता विकास गर्न सरकारले शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयो । अबका युवा गफ र नारामा विश्वास नगर्ने उल्लेख गर्दै उहाँले साँच्चै युवा र मुलुकको समृद्धि देखिने गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो । सम्मेलनमा सातै प्रदेशबाट २०० भन्दा बढी युवा उद्यमीको सहभागिता रहेको छ । सम्मेलनकै क्रममा डा प्रदीपमान तुलाधरले लेख्नुभएको ‘म पनि सक्छु’ पुस्तकको विमोचन गरिएको थियो ।

मेहनत गर्ने संस्कृति विस्थापितले परनिर्भरता : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मेहनत गर्ने संस्कृति विस्थापित हुँदा परनिर्भरता बढ्दै गएको बताउनुभएको छ । यहाँ आज आयोजित ‘२०औँ अन्तर्राष्ट्रिय युवा दिवस २०७६’ को उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले समाजमा मेहनत गर्ने संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “अहिले जताततै छलकपटबाट पैसा कमाउने मनसायले योजना माग्ने संस्कृति मौलाएको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “अब यो माग्ने संस्कृतिको अन्त्य गर्नुपर्छ ।”

उहाँले अगाडि भन्नुभयो, “कर्णाली पैसा नभएर पछि परेको होइन, मुख्यतः सोचकै कमी हो । विगतदेखि कर्णालीमा अर्बांै डलर भित्रिए पनि त्यसको पारदर्शी कार्यान्वयन नहुँदा अपेक्षित विकास हुन सकेन ।” कर्णाली सरकार युवाको साथमा भएको जनाउँदै मुख्यमन्त्री शाहीले युवासँग ‘ब्याकगेयर’ हुन नहुने र भएमा हटाएर समस्याको विकल्प खोज्न सक्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले चालू आवमा युवाका निम्ति रु एक अर्ब बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । “युवा जोश, शक्ति र मर्मका साथ अघि बढे श्रमशील युवालाई राज्यले जग्गा व्यवस्था गर्छ, सबैले खेती गर्नुस्”, उहाँले भन्नुभयो, “आफँैलाई खान पुग्दा पराइको भर गर्नुपर्दैन ।”

सूचना र प्रविधिको युगमा पनि कर्णालीवासीले पिठ्यूँमा भारी बोकिरहेको बताउँदै उहाँले आत्मनिर्भरताका लागि उद्यमशीलतासँग जोडिनु अहिलेको प्रमुख आवश्यकता हो भन्नुभयो । दिवसमा प्रदेशसभा सदस्य दानसिं परियारले युवालाई रोजगार, उद्यमशीलता र व्यवसायमा जोडेका देश विकासमा अग्रणी स्थापनामा पुग्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । “नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो र त्यो कर्णालीमा अझै बढी छ”, सदस्य परियारले भन्नुभयो, “राष्ट्रिय युवा नीति, २०७२ का साथै कर्णाली प्रदेश युवा नीति निर्माणबाट यहाँको बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।”

सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकेले कर्णालीको बेरोजगारी, यहाँ सञ्चालित साना तथा ठूलो उद्योग, कलकारखाना, रोजगार प्राप्त तथा वैदेशिक रोजगारमा बाहिरिएका युवाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । कर्णालीले अहिलेसम्म करीब ४०० युवालाई रोजगार दिएको र अझै ११ हजार युवा बेरोजगार रहेको उहाँको भनाइ थियो ।

उक्त कार्यक्रममा युवा प्रतिनिधि ठगेन्द्र सुनारले परिवर्तनका लागि लडेका युवा रोजगारीका लागि खाडी मुलुकमा भौंतारिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अब सरकारले बजारमा झुण्ड्याइएको कोरियन, जापानी, चिनियाँ भाषा अङ्कित ‘होडिङ बोर्ड’ विस्थापित हुने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.