‘स्ववियु सभापतिदेखि मन्त्रीसम्मको यात्रामा भट्टराई’
काठमाडौँ, १५ : विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो ।
निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो ।
सो मन्त्रिमण्डलमा भट्टराई समेटिनुभएन । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइअनुसार भट्टराई मन्त्री बन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आजै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गर्नुभएको छ । आमा महेन्द्रादेवी र बुबा स्व भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय परिवारमा उहाँको जन्म भएको थियो । उहाँ दुुई वर्षको छँदा नै बुबा बित्नुुभएको थियो ।
मैवाखोला गाउँपालिकास्थित नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेपछि उहाँले सङ्खुवासभाको मादी माविबाट एसएलसी उत्तीर्ण गर्नुभयो । विसं २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आयोजना गरेको अमहड्तालमा उहाँ सक्रिय सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो ।
एसएलसीपछि उच्च शिक्षाका लागि विसं २०४० मा मन्त्री भट्टराई राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै उहाँ पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिनुभएको थियो । विसं २०४१ मा महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापति र विसं २०४३ मा सभापतिमा विजयी हुनुभयो ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातनासमेत भोग्नुभएको थियो । जेल बसाइँका बेला झापा सङ्घर्षका चर्चित अगुवा हालका प्रधानमन्त्री ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर उहाँले पाउनुभएको थियो ।
मन्त्री भट्टराईले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा वाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
उहाँ विसं २०४६ को जनआन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभयो । विसं २०४६ देखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गर्नुभएका उहाँ सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि विसं २०५६ सम्म अध्यक्ष बन्नुभयो ।
उहाँ नेपाली राष्ट्रियताको पक्षमा सङ्गठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा हुनुहुन्छ । उहाँकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गर्न विसं २०५५ जेठमा काठमाडौँदेखि दार्चुलाको कालापानीसम्म काठमाडौँ–कालापानी मार्च अभियान सञ्चालन भएको थियो ।
त्यस्तै उहाँले विसं २०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइसमेत गर्नुभयो । मन्त्री भट्टराईले विसं २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौँ उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गर्नुभयो ।
विसं २०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनुभएका उहाँ पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी हुँदै विसं २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीको नवौँ महाधिवेशनबाट उहाँ सचिवमा निर्वाचित हुनुभयो ।
तत्कालीन एमालेको प्रचार विभाग प्रमुख रहनुभएका उहाँ अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले विसं २०५१ मा ताप्लेजुङ ढुङ्गेसाँघु निवासी बिन्दा घिमिरेसँग विवाह गर्नुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँकै सक्रियता र अगुवाइमा विसं २०६४ मा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भएको थियो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो ।
योगेश पर्यटनमन्त्री बनेसँगै ताप्लेजुङवासीमा खुशीयाली, प्रतिस्पर्धी भन्छन्–चुनावका एजेण्डा पूरा हुन्
‘अब बकैदामन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको, जिताएर पठाउनुहोस, मन्त्रीको बिल्ला भिराएर फर्काउँछु’–प्रतिनीधिसभा सदस्य निर्वाचनकाबेला तत्कालीन एमाले अध्यक्ष केपी ओलीले भन्नुभएको थियो ।
निर्वाचनकाबेला ओलीले दिनुभएको त्यो बचन योगेश भट्टराईलाई प्रतिनीधिसभा सदस्यमा निर्वाचित गराउने ठूलो खुड्किलो बन्यो । जिल्लावासीले त्यही बचनलाई सम्झेर पनि भट्टराईलाई जिताएर पठाए तर ओलीको मन्त्रिमण्डलमा योगेश नपरेपछि भने ओलीकै भाषण सामाजिक सञ्जालभर राखेर लामो समयसम्म आलोचना भयो ।
अन्तत भट्टराईलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएर प्रधानमन्त्री ओलीले बचन पूरा गर्नुभएको छ । योसँगै जिल्लावासीमा खुशीयाली छाएको छ । अहिलेसम्म राजकीय पदमा नपुग्नुभएका भट्टराईलाई अप्ठ्यारो र समस्या आइपर्दा सम्झिरहने जिल्लावासी, अव मन्त्री बनेपछि अझ जिल्लाको विकासले फड्को मार्ने विश्वासका साथ खुशीयाली बनेका हुन् ।
सर्वसाधरण नागरिक, विभिन्न पेशा व्यवसायीदेखि लिएर प्रतिनीधिसभा निर्वाचनमा उहाँकै प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहाललेसमेत शुभकामना र बधाई व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “राजनीतिक बाटो फरक भए पनि चुनाबका बेला हामीले पहिचान गरेका समस्या र एजेण्डा उस्तै थिए । साझा थिए, जसले जिते पनि जिल्लालाई समृद्ध बनाउनुपर्ने थियो, उहाँले मलाई पराजित गरेर आज मन्त्री हुनुभएको छ । तमोर करिडोर, ओलाङचुङगोला लोकमार्ग, पाँचथरको थर्पु हुँदै कञ्चनजङ्घा जाने मोटरबाटो, मदन भण्डारी राजमार्ग, पाथीभरा जाने बाटो निर्माण हाम्रा साझा एजेण्डा थिए, जसलाई पूरा गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।” दहालले प्रतिपक्षीलाई विश्वासमा ल्याएर अघि बढ्न सुझाव दिनुभयो ।
दाहालले १६ हजार ८८८ मत ल्याउनुभएको थियो भने भट्टराईले २९ हजार ४७९ मत ल्याउनुभएको थियो । चुनावी मैदानमा उत्रिएका बेला भट्टराई र दाहालका एजेण्डा उस्तै–उस्तै थिए । तमोर करिडोर, मदन भण्डारी राजमार्ग, ओलाङचुङगोला लोकमार्ग निर्माण साथै टिपताला नाका खोल्ने र अलैँची खेतीलाई प्रवद्र्धन गर्ने जस्ता एजेण्डालाई भट्टराईले प्राथमिकता दिनुभएको थियो । अब यिलगायतका विकासका कामले फड्को मार्ने यहाँका नागरिकको विश्वास छ ।
“जिल्लाले पर्यटनमन्त्री पाएको छ, अव ताप्लेजुङ समृद्धि तर्फ अघि बढ्छ भन्ने विश्वास छ, चीनसँगको नाका खोलेर जिल्लालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न साथै विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी ती क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरी जिल्लालाई पर्यटनमैत्री मात्रै बनाउन सके पनि ताप्लेजुङ समृद्ध हुन्छ”,–पर्यटन व्यवसायी ओम प्रकाश राईले भन्नुभयो ।
यता जिल्लाको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङ कि बच्छलीमाया भट्टराईलाईसमेत योगेशमन्त्री हुँदा खुशीको सीमा छैन । वृद्ध भएर पनि राजनीतिमा चासो राख्ने भट्टराईले भन्नुभयो, “हामी त अस्ताउन लागेको घाम जस्तै भइसक्यौँ, अव अरुका लागि राम्रो होस्, जिल्लाका नेताले राम्रो काम गरुन् ।”
विस.२०२३ भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मनुभएका भट्टराईले विसं २०३७ देखि विद्यार्थी राजनीतिबाट आफूलाई सशक्त बनाउँदै राजनीतिमा आफूलाई स्थापित गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा स्वच्छ छवि बनाउनुभएका भट्टराईले प्रतिनीधिसभाको निर्वाचनबाट प्रतिनीधिसभा सदस्य बनेसँगै ताप्लेजुङको विकासमा थप चासो राख्दै आउनुभएको छ । सालिन स्वभावका भट्टराईबाट जिल्लावासीले ठूलो भरोसा र विकासको अपेक्षा गर्दै आएकाछन् ।
