चन्द्रमामा पाइला टेकेको स्मरणमा स्वर्णजयन्ती मनाउन आह्वान
काठमाडौँ, ३ साउन : पचास वर्षअघि मानिसले पहिलो पटक चन्द्रमामा पाइला टेकेको स्मरणमा यही साउन ४ र ५ गते (जुलाइ २० र २१) मा कार्यालय, विद्यालय, क्याम्पस, संस्था आदिमा कार्यक्रम गर्न आह्वान गरिएको छ ।
विज्ञान र वैज्ञानिकका क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले चन्द्रावतरणको स्वर्णजयन्ती मनाउन आग्रह गरेको हो । सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सो सम्बन्धमा केही जानकारी वा सहयोग चाहिएमा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।
सन् १९६९ जुलाई २१ मा अमेरिकाका नील आर्मस्ट्रङले विश्वमै पहिलो पटक चन्द्रमामा पाइला टेक्नुभएको थियो । हालसम्म चन्द्रमामा पाइला टेक्नेमा अमेरिकी नागरिक मात्र छन् । सन् १९६९ देखि १९७२ सम्म १२ अमेरिकीले चन्द्रमामा पाइला टेकेका थिए । सन् १९७२ पछि कसैले पनि चन्द्रमामा पाइला टेकेको छैन । हालसम्म चन्द्रमामा पुग्ने सबै पुरुष मात्र छन् । अमेरिकाले सन् २०२४ मा महिला पठाउने तयारी गरेको छ ।
पृथ्वीबाट चन्द्रमा औसत तीन लाख ८४ हजार किमी टाढा छ । भारत, चीन र रुसले पनि चन्द्रमामा पाइला टेक्ने लक्ष्य राखेका छन् । सोसाइटीले विद्यालय तहदेखि नै विज्ञानका विषयमा जागरण फैलाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।