फलफूल तथा तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसद्मा आपत्ति
काठमाडौँ, २२ असार : सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने फलफूल तथा तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “भारतलगायत तेस्रो मुलुकबाट आउने फलफूल तथा तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो ? विषादीयुक्त फलफूल तथा तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस् ।”
सांसद देवकोटाले सर्लाही जिल्लामा खोलामा उत्खनन्का क्रममा पुरिएको बालकको उद्धारमा प्रहरी प्रशासनको ढिलाइका कारण उनको मृत्यु भएको आरोप लगाउनुभयो । उद्धारमा प्रहरी प्रशासनको ढिलाइप्रति स्थानीयवासीले गरेको आन्दोलनमा प्रहरीले दमन गरेर आतङ्क मच्चाएकाले त्यसबारे स्पष्टीकरण दिन पनि उहाँले माग गर्नुभयो ।
विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो ।
सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलफूल तथा तरकारी आयात रोक्न आग्रह गर्नुभयो । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न माग गर्नुभयो ।
विषादीयुक्त तरकारी खुला’
सांसद खाँणले अखाद्य पदार्थलाई बिक्री वितरणमा रोक लगाउन गरेको सरकारको निर्णय केही दिन पनि नटिक्नुको कारण के हो भनी सम्बन्धित मन्त्रीसँग जवाफ माग गर्नुभयो । “अखाद्य तरकारी रोक लगाउने सरकारले गरेको निर्णयको हामीले स्वागत ग¥यौँ तर सकारले घुँडा टेकेको छ, सरकार लम्पसार परेको छ, खाद्य सुरक्षासम्बन्धी हक, जीवन रक्षा गर्न पाउने अधिकारको रक्षा होस्, हिजो किन रोकियो, परीक्षण नगरी किन फेरि सहजतापूर्वक खोलियो, यो गम्भीर विषय भएकाले तत्काल सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो । संविधान प्रतिकूल अघि बढाइएका सबै विधेयक फिर्ता लिन पनि प्रमुख प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ ।
