‘नेपाल विशेष सेवा दिवस’ मनाइयो
काठमाडौँ, १२ भदौ : नेपालमा विशेष सेवा ऐन जारी भएको दिनको सम्झनामा राष्ट्रिय अनुसन्धान विभागले ‘नेपाल विशेष सेवा दिवस’ मनाइएको छ ।
विभागले आज बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीको पूनर्मिलन तथा रक्तदान कार्यक्रम गरी सो दिवस मनाएको हो । कार्यक्रममा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले सङ्गठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी सङ्गठनलाई प्राप्त नयाँ जिम्मेवारीअनुसार अगाडि बढाउनुपर्ने बताउनुभयो ।
“राष्ट्रिय हित एवं सुरक्षाको संरक्षण र संवद्र्धन, शान्ति सुरक्षा, व्यवस्थापन, सुशासन कायम, समृद्ध नेपाल र सुखी नेपाली सरकारको नारालाई पूरा गर्न विभागले अनुसन्धान क्षेत्रमा विशेष जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।
विभागका पूर्वमुख्य अनुसन्धान निर्देशक विष्णुराज पन्तले स्थायी सरकार गठनसँगै मुलुकमा स्थायित्व कायाम भई विकासले गति लिने आशा व्यक्त गर्नुभयो । “अनुसन्धान प्रहरीले राज्यका हरेक पक्षका बारेमा सूक्ष्म अध्ययन एवं विश्लेषण गरी निष्कर्ष निकाल्नुपर्छ,” उहाँले भन्नुभयो ।
विभागका पूर्वप्रमुख अधिकृत गोविन्दकर्म थापाले राष्ट्रिय सुरक्षाका चुनौती बढ्दै गएकाले राष्ट्रिय अनुसन्धान विभागलाई युग सुहाउँदो नवसङ्गठनका रुपमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा ११६ जनाले रक्तदान गर्नुभएको थियो । विभागले नेपाल विशेष सेवा ऐन जारी भएको मिति विसं २०४२ भदौ १२ गतेको अवसर पारी विगतदेखि नै रक्तदान तथा पुनर्मिलन कार्यक्रमको आयोजना गरी मनाउँदै आइरहेको छ ।
