स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्ने

काठमाडौँ, १६ असार : स्थानीय तह सक्षम भएर पनि काम नगर्ने प्रवृत्तिका कारण विकृति मौलाउँदै गएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

विकास पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘स्थानीय सरकार कति सक्षम’ विषयक गोष्ठीमा सहभागीले स्थानीय तह आफैँ समक्ष भएर पनि तिनले पाएका अधिकारसमेत सदुपयोग नगर्दा विकृति बढ्दै गएको बताएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले स्थानीय तहमा विकासको नाममा अर्बौं रकम खर्च भए पनि त्यसको सदुपयोग नभएको बताउनुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधिपिच्छे कार्यक्रम सञ्चालन गर्दा विकास निर्माणमा समस्या परेको भन्दै तीनले सङ्घ र प्रदेशसँग समन्वय गरेर मात्र योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अझै पनि सङ्घीय र स्थानीय तहको कानूनमा केही समस्या आएकाले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरेर ती समस्या निराकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले ‘स्थानीय सरकार मामिलामा पत्रकारिता ः विषयवस्तुको पहिचान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहका विकृति र विसङ्गति तथा तिनले लुकाउन खोजेका विषयवस्तु, शक्तिको दुरुपयोग र संरचनागत मनपरीलाई पत्रकारले उठाउनुपर्ने बताउनुभयो ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापाले स्थानीय तहमा बजेट छर्ने प्रवृत्तिले विकासलाई अगाडि बढाउन नसक्ने बताउनुभयो । उहाँले स्थानीय सरकारका गतिविधिलाई पत्रकारले नियालिरहनुपर्ने सुझाव दिनुभयो ।

उक्त मन्त्रालयका पूर्वसहसचिव पुरुषोत्तम नेपालले ‘स्थानीय सरकारको वित्तीय अवस्था’बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहले बजेट जथाभावी बनाउने गरेकाले तिनलाई बजेटका सम्बन्धमा प्रशिक्षण दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सहभागितामूलक कार्य समूहका अध्यक्ष चेतनाथ कँडेलले नयाँ बजेट आउने समयमा मात्र खर्च गर्ने पद्दति पुरानै भएकाले यसमा सुधार गर्नुपर्नेमा जोड दिनुयभयो । पूर्वसहसचिव वसन्तराज गौतमले ‘स्थानीय सरकारको सुशासन’बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएकाले यसलाई रोक्नुपर्ने बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटा र नेपाल गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक विमल पोखरेलले संविधानको मर्मअनुसार नै स्थानीय सरकारले काम गरिरहेको भन्दै विकास निर्माणका कामका देखापरेका कानूनी जटिलता फुकाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.