दुई सम्पदाको मर्मत सम्भार शुरु

काठमाडौँ, ११ भदौ : भूकम्पले भत्किएर पुनःनिर्माण सम्पन्न गरिएको लिच्छविकालीन दुई मन्दिरमा महिना दिन नबित्दै पानी चुहिन थालेपछि मर्मत सम्भार शुरु भएको छ ।

सम्पदा निर्माण सम्पन्न भएलगत्तै पानी चुहिन शुरु भएको समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएलगत्तै पुरातत्व विभागले निर्माण व्यवसायीलाई पत्राचार गरेको थियो ।

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण शङ्करापुर नगरपालिका –७ स्थित साँखु शहरको साल्खा टोलमा रहेको राम भुपडी कृष्ण मन्दिर पुनःनिर्माण गुणस्तरीय नहुँदा पानी चुहिएको हो । जसका कारण मन्दिरका काठलगायत संरचना मक्काएर जीर्ण हुने भएपछि पानी नचुहिने बनाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

पानी नचुहिने गरी मर्मतसम्भार नगरेर विभागमा धरौटी राखिएको रकम फिर्ता नदिने भनी निर्माण व्यवसायीलाई पत्राचार गरेपछि काम शुरु भएको विभागका इञ्जिनियर पूर्णबहादुर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि विभागले टेण्डर आह्वान गरेको थियो । मन्दिर पुनःनिर्माणको लागतलगायत सूचना संलग्न गरी निर्माणस्थलमा राखिनुपर्ने सूचनापाटीसमेत नराखी मन्दिर बनाइँदा गुणस्तरहीन काम भएको थियो । कानूनी व्यवस्थाअनुसार राखिनुपर्ने जानकारीमूलक तथ्य समेटिएको सूचनापाटी नराख्दा स्थानीय बासिन्दाले यससम्बन्धी जानकारी नपाएको पूर्वगाविस अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर पुनःनिर्माणको ठेक्का ‘गुप्ती गणेश कन्स्ट्रक्सन’ले पाएको थियो । पुनःनिर्माणको लागत रु ३५ लाख रहेको विभागले जनाएको छ । विभागमा नगरपालिकाको वडा नं ६ मा रहेको नारायण मन्दिरमा पनि पुनःनिर्माण सकिएलगत्तै पानी चुहिन थालेको थियो ।

नारायण मन्दिरको पुनःनिर्माणका लागि रु ३५ लाखमै मिलीजुली कन्स्ट्रक्सनलाई टेण्डर दिइएको विभागले जनाएको छ । निर्माण लागतको पाँच प्रतिशत विभागमा धरौटी राख्ने प्रावधान छ । मर्मत सम्भार गरी पानी चुहिने नबनाए धरौटी फिर्ता नगर्ने पत्राचार गरेपछि काम शुरु भएको इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।

गोरखा भूकम्पले ७५३ सम्पदामा क्षति पु¥याएको थियो । त्यसमध्ये हालसम्म १८५ सम्पदाको पुनःनिर्माण सकिएको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.