बझाङ जीप दुर्घटनामा नौको मृत्यु, मृतक सबैको सनाखत

बझाङ, २ असार : सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ ।

मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिनुभयो ।

घटनास्थलमा खटिनुभएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि सुमित एयरलाइन्सको हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ । दुर्घटनामा चार जना घाइते र हेलिकोप्टर आइसकेको उहाँले जानकारी दिनुभयो । मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ ।

घाइतेमध्ये ठाटीकाँध गाउँपालिका–४ का जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.