मासिकरुपमा महसुल मात्र बुझाउनुपरेपछि खानेपानी पीडितको प्रदर्शन
काठमाडौँ, ३२ जेठ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जडान गरेको धारामा पानी नझरी मासिकरुपमा महसुल मात्र बुझाउनुपरेपछि पीडित उपभोक्ता विरोधमा उत्रेका छन् ।
उपत्यकाका विभिन्न भागका खानेपानीपीडित थापाथली चोकमा जम्मा भई संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको स्वच्छ खानेपानीको हक कार्यान्वयनको माग गरे । प्रदर्शनमा पूर्वखानेपानी सचिव भीमप्रसाद उपाध्यायसमेत पानी पीडितका रुपमा सहभागी हुनुभएको थियो ।
लिमिटेडले जडान गरेको धारामा कहिलेकाहीँ आउने पानी पनि धमिलो आउनेलगायत समस्याका कारण सडकमा उत्रन बाध्य हुनुपरेको ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण सङ्घका अध्यक्ष सुशील श्रेष्ठले बताउनुभयो ।
पीडितले आउनै लागेको मेलम्ची आयोजना भ्रष्टाचारका कारण रोकिएको बताउँदै छानविन गरी दोषीमाथि कानूनी कारवाहीको मागसमेत गरे । हाल राजधानीमा दैनिक ४० करोड लिटरभन्दा बढी पानीको माग भए पनि लिमिटेडले सुक्खा मौसममा दैनिक नौ करोड लिटर मात्र आपूर्ति गरिरहेको छ । कति ठाउँमा चुहावट टाल्न नसक्दासमेत पानीको हाहाकार हुने गरेको छ । पानीको समस्या बेलैमा समाधान नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने पीडितले बताएका छन् । पानी पीडितले उपत्यका खानेपानी उपभोक्ता पीडित दबाब समूह नै गठन गरेका छन् ।
स्थानीय सरकारलेसमेत खानेपानी समस्या समाधानका लागि कुनै पहल नगरेको पीडित उपभोक्ताको गुनासो छ । उपत्यकाका डाँडाकाँडामा रहेको मुहानको संरक्षण मात्र गरे पनि केही राहत मिल्ने अभियानकर्मी प्रकाश अमात्यले बताउनुभयो ।
