कोइराला निवास क्षेत्रमा सङ्ग्रहालय निर्माण हुने
विराटनगर, १६ जेठ : स्व गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगर महानगरपालिका–७ कोइराला निवास क्षेत्रमा सङ्ग्रहालय निर्माण हुने भएको छ ।
शिखर पुरुष गिरिजाप्रसाद कोइराला सङ्ग्रहालय नाम रहने सो भवन चारतले हुने र यसका लागि सङ्घीय सरकारले रु ४० लाख, प्रदेश नं १ सरकार स्वास्थ्य विभागले रु २० लाख, विराटनगर महानगरपालिकाले रु १५ लाख, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागले रु दुई लाख सहयोग प्रदान गरेको जिपी कोइराला फाउण्डेशन प्रदेश नं १ का अध्यक्ष इन्दिरा थापाले जानकारी दिनुभयो । भवन कूल रु तीन करोड २२ लाख लागतमा निर्माण हुने भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत सङ्घर्ष गरेर देशमा राजनीतिक परिवर्तन गराउन सफल र पटक÷पटक मुलुकको प्रधानमन्त्री बन्न सफल कोइरालाको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय छवि रहेकाले नै यो सङ्ग्रहालयको निर्माण गर्न लागेको थापाले बताउनुभयो । विराटनगरलाई कर्मभूमि बनाएर मजदूर आन्दोलनबाट राजनीतिमा होमिनुभएका कोइराला नेपाली काङ्ग्रेस पार्टीका महामन्त्रीदेखि पार्टी सभापतिसम्म बन्नुभएको थियो ।
नेपाली राजनीतिको इतिहास बुझ्न र जान्न जो कोहीलाई मद्दत पुग्ने उद्देश्यले सङ्ग्रहालय बन्न लागेको फाउण्डेशनका सदस्य हरिनारायण चौधरीले जानकारी दिनुभयो । काङ्ग्रेसका केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले निर्माण हुने भवनको आज शिलान्यास गर्दै नेपालमा राजनीतिक चेतना र सामाजिक जागरणमा गिरिजाप्रसाद कोइरालाको भूमिका अग्रणी छ भन्नुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सभासदस्य केदार कार्की र प्राध्यापक कृष्णप्रसाद पोखरेलले कोइरालाको योगदान बारेमा चर्चा गर्नुभएको थियो ।
