जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि   

लमजुङ, १३ जेठ : जलविद्युत् आयोजनाको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लामा सञ्चालित उत्पादन थालेका आयोजनाहरुमा विद्युत् उत्पादन बढेको छ । बेलाबेला वर्षा हुनाका साथै धेरै हिउँ पग्लिएसँगै नदीमा पानीको बहाव बढ्न थालेपछि उत्पादन थालेका आयोजनाहरुमा विद्युत् उत्पादन बढ्न थालेको हो ।

बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । ७० मेगावाट क्षमताको उक्त आयोजनाबाट केही दिनअघि बाट पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रले जनाएको छ ।

केही समयअघि सम्म नदीमा पानी कम हुँदा मुस्किलले ५० मेगावाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । विगतका वर्षमा जेठ २० गतेपछि मात्रै विद्युत् उत्पादन बढ्ने गरे पनि गत वर्षको तुलनामा यस वर्ष चाँडै बिजुली उत्पादन बढेको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३५÷३५ मेगावाट क्षमताको दुई वटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै पनि बिजुली उत्पादन हुने गरेको सो आयोजनामा अहिले पूरै क्षमतामा बिजुली उत्पादन हुँदा देशलाई समेत मद्दत पुगेको छ ।

त्यसैगरी ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेको आयोजनाले जनाएको छ । केही समयअघि सम्म क्षमताभन्दा करीब आधा मात्रै उत्पादन हुँदै आए पनि अहिले छिट्टै उत्पादन बढेको आयोजनाका कर्ण अधिकारीले बताउनुभयो ।

अन्य निर्माण सम्पन्न आयोजनाहरुमा समेत बिजुली उत्पादन बढ्न थालेको जनाइएको छ । पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन बढ्न थालेको जनाइएको छ । जिल्लामा रहेको आयोजनाहरुमा विद्युत् उत्पादन बढ्दा देशलाई समेत थप टेवा पुगेको छ । जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन अवस्थमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.