‘रोभर मुट’ भेला हुने 

काठमाडौँ, १० जेठ : नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’ हुने भएको छ ।

‘समृद्धिका लागि सहकार्य’ भन्ने मूल नारासाथ देशभरका युवा स्काउटको सम्मेलन जेठ १७ देखि २१ गतेसम्म पोखरामा हुन लागेको हो । स्काउटले आज यहाँ पत्रकार सम्मेलन गरी १६ देखि २५ वर्ष उमेर समूहका स्काउट युवायुवतीलाई एकै थलोमा सांस्कृतिक आदानप्रदान भ्रातृत्व विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानमा सक्रिय गराउन उक्त भेला आयोजना गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले भेलामा देशभरका ७५३ वटै स्थानीय तहबाट चार हजार ५०० र विदेशका ५०० युवा स्काउटको सहभागिता रहने जानकारी दिनुभयो ।

रोभर मुटमा सहभागीको आत्मविश्वास बढाउन रोप क्लाईम्बिङ, स्वीङ बोर्ड, रोप क्रसिङ, आर्चरी, ¥याफ्ट बोटिङलगायतका साहसिक गतिविधि सञ्चालन गरिने संयोजक भण्डारीले बताउनुभयो ।

भेलामा नेपालबाहेक भारत, बङ्गलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेशिया, थाइल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्गका युवा स्काउटको सहभागिता रहनेछ ।

असल र चरित्रवान नागरिक निर्माण गर्ने उद्देश्यसाथ स्थापना भएको स्काउटले सबै प्रदेश, जिल्ला र विद्यालयमा आफ्नो सङ्गठनलाई विस्तार गर्ने नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र ध्वजुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.