प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर, ७ जेठ : टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।

आज दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका सो समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरलाई उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताउनुभयो ।

हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लव समूहका कार्यकर्ता हतियारसहित रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.