गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा गयौँ : सांसदद्वय

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।

सांसदद्वयले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत हैसियतमा निजी तवरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएका बेला लाट्भियाको राजधानी रिगामा कानून निर्माताहरुको अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने गलत सूचनाका कारणले अनभिज्ञतावश सहभागी हुन पुगेको उल्लेख छ ।

“जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौँ”, सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा भनिएको छ ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उहाँहरुले बताउनुभएको छ । प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

आफूहरुले आजै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मियाँले बताउनुभयो । गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.