फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै
काठमाडौँ, ८ भदौ : काठमाडौँको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नुवाकोटको सिसडोल फोहर व्यवस्थापन विर्सजन स्थल (ल्याण्ड फिल्ड साइट) भरिइसकेकाले अब शहरमा दैनिक निस्कने ५०० टन फोहर कहाँ फाल्ने भन्ने समस्या उत्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘फोहरमैला व्यवस्थापन र विद्यमान ऐन कार्यान्वयन’ विषयक कार्यशालामा वक्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा सिसडोल भरिएका कारण फोहर व्यवस्थापनबारे जनतालाई जनचेतना जगाउनुपर्ने, हानिकारक फोहरमैलाको व्यवस्थापन, ऐन कार्यान्वयन र फोहर व्यवस्थापनको प्रतिबद्धता हुुनुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, महानगरपालिका, निजी क्षेत्र तथा स्थानीयवासीको सामूहिक प्रयासबाट मात्र यो समस्या निराकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले शहरी क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले काठमाडौँमा जनसङ्ख्या वृद्धिसँगै फोहर व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापन चुनौतीपूर्ण भएकाले सबै पक्षको सहयोगका लागि आग्रह गर्नुभयो । काठमाडौँलाई सफा तथा सुन्दर बनाउन काठमाडौँवासीलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले नगरपालिका आफ्नो क्षेत्रको फोहर व्यवस्थापनमा आफैँ लाग्नुपर्ने, फोहर व्यवस्थापन योजना बनाउनुपर्ने, फोहर फाल्नका लागि नागरिक आचारसंहिता बनाउनुपर्ने सुझाव दिनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य माधव पौडेलले फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेकाले महानगरपालिका गम्भीर भई स्थायी फोहर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
