निजामती सेवा दिवस मनाउन समिति गठन
काठमाडौँ, ७ भदौ : यस वर्षको १४औँ निजामती सेवा दिवस मनाउन मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
यही भदौ २२ गते मनाइने निजामती दिवसमा गरिने कार्यक्रम तथा अन्य व्यवस्थापन गर्न मुख्य सचिव रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
विसं २०६२ भदौ २२ गतेबाट औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले कर्मचारीलाई पुरस्कृत गर्नेछ । प्रवक्ता अधिकारीका अनुसार यसपटक एक जनालाई सर्वोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा सम्मान प्रदान गर्ने भएको छ ।
