अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ, २२ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत प्रहरी जवान गणेश लोहा विरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार साउदी अरबका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग रु १७ हजार घुस लिएको अभियोगमा गत चैत १९ गते पक्राउ गरिएको थियो । अरेबिक भाषा अनुवादक अजाद आलम, प्रहरी जवान विष्णु नाथ र प्रहरी जवान लोहारको आपसी सल्लाह र संलग्नतामा घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
यस्तै आयोगले काहुँ आधारभूत विद्यालय कास्कीका तत्कालीन प्रधानाध्यापक अम्बिका गौतमको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यसैगरी आयोगले चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौँमा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक मर्मत सम्पन्न भएपश्चातको भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग अधिकृत भट्टराईले रु २० हजार घुस लिएको अभियोगमा यही वैशाख २ गते पक्राउ गरिएको थियो ।
उच्च अदालतका नासु घुस लिएको अभियोगमा पक्राउ
त्यस्तै आयोगले आजै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायब सुब्बा कृष्णकुमार पाठकलाई रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा नायब सुब्बा पाठकले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । नायब सुब्बा पाठकलाई नेपालगञ्जको चार बाहिनी चोकमा रहेको लयर्स च्याम्बरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.