मेलम्ची क्षेत्रमा नदीजन्य पदार्थ उत्खननमा रोक
नगरपालिका, क्रसर उद्योग सञ्चालक र सुरक्षा निकायबीच आज बसेको संयुक्त बैठकले नगरपालिकाअन्तर्गतका इन्द्रावती तथा मेलम्ची नदी क्षेत्रमा सञ्चालित नौ क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि प्रयोग गर्दै आइरहेको मेशिनरी औजारलाई आजैदेखि लागू हुने गरी रोक लगाउने निर्णय गरिएको नगर प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयोे ।
यसअघि स्थानीयले क्रसर उद्योग सञ्चालनका कारण वातावरण प्रदूषित भएको, दैनिक जीवनयापनमा गम्भीर असर गरेको भन्दै पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।
भूकम्पपश्चात्को पुनःनिर्माण कार्यमा आवश्यक पर्ने गिट्टी, बालुवा, चिप्सको उत्पादन तथा वितरणमा सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र कार्यालयको निर्णयअनुसार नदीजन्य पदार्थको उत्खननका लागि गत माघ ७ गतेदेखि अनुमति प्रदान गरेको थियो ।
नगरपालिकाले क्रसर उद्योगबाट हाल सङ्कलन भएको नदीजन्य कच्चापदार्थको मौज्दात परिमाणसमेत यकिन गरी नदी तथा खोला क्षेत्रमा मेशिनरी औजारको प्रवेश कार्य बन्द गरेको हो । नगरपालिका क्षेत्रभित्र रहेका क्रसर उद्योगले प्रदेश नं ३ सरकारबाट जारी गरेको नदीजन्य पदार्थको (सङ्कलन र उपयोग) कार्यविधि, २०७५ मा उल्लेख भएका कानूनी प्रावधान र स्थानीय अनुगमन समितिले दिएको निर्देशनलाई पूर्णरुपमा पालना गर्नेसमेत निर्णय गरिएको छ ।
अबदेखि सहमति विपरीत मेशिनरी औजार प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा कडा कारवाही गरिने नगरपालिकाका प्रमुख अर्यालले चेतावनीसमेत दिनुभएको छ ।
