सूचनाको अभावमा कामदारलाई दुःख
ललितपुर, ७ भदौ : अधिकारकर्मीले सूचना अभावका कारण वैदेशिक रोजगारीमा गएका कामदारले दुःख पाइरहेकोे बताएका छन् ।
मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको कार्यक्रमका वक्ताले सूचनाको अभावमा अध्ययन र रोजगारीका लागि विदेश जाने प्रक्रियादेखि विदेश पुग्दासमेत ठगिनु परेको बताएका हुन् ।
सुरक्षित आप्रवासको राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक राईले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आफू कुन दिन उड्नेबाहेक अरु जानकारी नहुने बताउनुभयो । वैदेशिक रोजगार कम्पनीले निःशुल्क राहदानी र निःशुल्क टिकट पालना गरेको उहाँको भनाइ छ ।
एचआइभी सङ्क्रमित महिलाको संस्थाका अध्यक्ष मथुरा कुँवरले वैदेशिक रोजगारीले अवसर मात्रै नभएर ग्रामीण क्षेत्रमा समस्या निम्त्याइरहेको बताउनुभयो ।
माइती नेपालकी प्रतिनिधि सजनी श्रेष्ठले ग्रामीण क्षेत्रमा सूचनाको सम्प्रेषणको माध्यम नभएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने महिलाले जानु पहिले सामान्य जानकारीसमेत नपाएको उल्लेख गर्नुभयो ।
मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले ग्रामीण क्षेत्रका र अशिक्षित व्यक्ति सूचनाको पहुँचभन्दा टाढा रहेकाले पनि वैदेशिक रोजगारीमा समस्या थपिएको बताउनुभयो ।
