ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्ष परकम्प गइरहने
नारायण अधिकारी । चितवन, १२ वैशाख : भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो ।
पौडेलका अनुसार जमीनमुनि इण्डियन र तिब्बतियन प्लेट निरन्तर ठोक्किइरहन्छ । इन्डीयन प्लेट तिब्बतीयन प्लेटको मुनि पस्नेक्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने शक्ति सञ्चय भूकम्पीयमाध्यमबाट क्षय हुने बताउनुभयो । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्प गइरहने पौडेलले बताउनुभयो । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पले दिने उहाँले बताउनुभयो ।
सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्प मात्र जाने पौडेलले बताउनुभयो । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उहाँ बताउनुहुन्छ । सन् १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रबिन्दु भई भूकम्प जाँदा १० हजार ७०० जनाले ज्यान गुमाएको र त्यसको प्रभाव भारतको दरबङ्गासम्म पुगेको उहाँले बताउनुभयो ।
विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको र अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको पौडेलले बताउनुभयो । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि ठूलो भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उहाँको भनाइ छ । भूकम्पीय जोखिम कम गर्न सरकारले सर्वसाधारणलाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ । कमजोर संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प जाँदा आपत्कालीन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । चार वर्षअघि आजकै दिन गोरखाको बारपाकमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।
