सगरमाथाबाट एक हजार किलो फोहर सङ्कलन

सोलुखुम्बु, ८ वैशाख : सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौँ लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो ।

स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने बस्तुलाई नाम्चे क्षेत्रमानै व्यवस्थापन गरिएको छ । कुहिने वस्तुसहितको फोहरलाई ओखलढुङ्गा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडौँ पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

१२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा सङ्कलन भएको फोहर पठाइएको प्रमुख भट्टराईको भनाइ छ ।

उहाँका अनुसार वैशाख १ गतेबाट शुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.