टेलिकमका दुई कर्मचारी सङ्गठनबीच एकता

काठमाडौँ, २८ चैत : नेपाल टेलिकममा क्रियाशील तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटस्थ दुई कर्मचारी सङ्गठनबीच एकता भएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा तत्कालीन एमाले निकट नेपाल दूरसञ्चार कर्मचारी सङ्घ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम समितिबीच एकता भएको घोषणा गरियो । एकतासँगै नयाँ सङ्गठनको नाम ‘नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन’ राखिएको छ । एकता महाधिवेशनसम्म सङ्गठनलाई क्रियाशील बनाएर लैजानका लागि साविकका दुई सङ्गठनको तर्फबाट दुई संयोजक रहने गरी सहमति भएको छ । सङ्गठनको प्रथम संयोजकमा लोकबहादुर कटुवाल र द्वितीय संयोजकमा दामोदर केसी रहनुभएको छ । राष्ट्रिय राजनीति र विचार तथा सङ्गठनका आधारमा ती दुई सङ्गठनबीच एकताले बुधबार मात्र अन्तिम रुप लिएको हो ।

नेपाल टेलिकमका कर्मचारीबीच एकता, सद्भाव तथा समझदारीको अभिवृद्धि गरी कर्मचारीको हकअधिकारको संरक्षण एवं सम्वद्र्धनका साथै कम्पनीलाई समृद्ध बनाउन दुई सङ्गठनबीच एकता गरिएको प्रथम संयोजक कटुवालले जानकारी दिनुभयो । उहाँले लोकतन्त्र र ट्रेड युनियन आन्दोलनमा प्रभावकारी भूमिका खेल्ने साझा उद्देश्य भएकाले सङ्गठनलाई जुझारु र सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकतालाई हृयाङ्गम गरी दुवै सङ्गठनमा आबद्ध कर्मचारीको मनोभावनाको सम्मान गर्दै एकता गर्ने निर्णयमा पुगिएको बताउनुभयो ।

एकतासँगै प्रत्येक दूरसञ्चार कार्यालय, विभाग, निर्देशनालयमा सदस्य सङ्ख्याका आधारमा एकाइ समिति, सम्पर्क समिति रहने, क्षेत्रीय समिति र निर्देशनालयअन्तर्गत रहेका सङ्गठनको सदस्य सङ्ख्याका आधारमा क्षेत्रीय समिति रहने कटुवालले जानकारी दिनुभयो । तत्कालका लागि ४५ पदाधिकारी भएको केन्द्रीय समिति र १७ सदस्यीय केन्द्रीय सचिवालयको गठन गरिएको छ । पहिलो केन्द्रीय एकता अधिवेशन नहुञ्जेलसम्मका लागि केन्द्रीयस्तरमा सङ्घ र सङ्गठनकोतर्फबाट ५८ र ४२ को अनुपातमा प्रतिनिधितव हुने गरी १३३ सदस्यीय केन्द्रीय एकता अधिवेशन आयोजक समिति निर्माण गरिएको छ ।

साविकको सङ्गठनका क्षेत्रीय समिति सदस्यलाई ४२ प्रतिशत मानी सङ्घकोतर्फबाट ५८ प्रतिशत प्रतिनिधित्व हुने गरी क्षेत्रीय अधिवेशन आयोजक समिति निर्माण गरिएको छ । उक्त समितिमा बढीमा नौ सदस्यीय सचिवालय सदस्य रहनेछन् । केन्द्रीय र क्षेत्रीय अधिवेशन आयोजक समितिमा दुवै सङ्गठनका तर्फबाट संयोजक रहने गरी एकताको ढाँचा तय गरिएको छ ।

दुवै सङ्गठनबीच एकता अधिवेशनलाई २०७६ असार मसान्तभित्र सक्न र एकता अधिवेशन सहमतिका आधारमा गर्न प्राथमिकता दिने समझदारी भएको छ । दुवै सङ्गठनबीच सम्मानजनक एकता अनुभूति गर्ने÷गराउने, आगामी एकता अधिवेशनमा आपसी सममतिका आधारमा साविका सङ्घ र सङ्गठनका बीचबाट ५८÷४० प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति र कार्यविभाजन तथा क्षेत्रीय समिति र कार्यविभाजन गरिने समझदारी भएको प्रथम संयोजक कटुवालले जानकारी दिनुभयो ।

त्यसैगरी दुई सङ्गठन अस्तित्वमा रहँदाको बखत गरेको सङ्घर्ष, प्राप्त उपलब्धि, साङ्गठनिक गतिविधि, सम्पत्ति, दायित्व र अधिकार ‘नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन’ले गरेको मानिने सहमति भएको छ । विसं २०७६ माघ २९ गतेसम्म आधिकारिक ट्रेड युनियनको वैधानिकता रहने गरी एकताका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गरिने समझदारी भएको छ । विसं २०४६ को प्रजातन्त्रिक आन्दोलनको सफलतासँगै तत्कालीन नेकपा (एमाले) निकट कर्मचारी सङ्गठनका रुपमा नेपाल दूरसञ्चार कर्मचारी सङ्घको स्थापना भएको थियो ।

त्यस्तै तत्कालनी नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको शान्तिपूर्ण अवतरणसँगै सो पार्टी निकट कर्मचारी सङ्गठनका रुपमा २०६३ पुस १८ गते नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको गठन भएको थियो । सङ्गठनका द्वितीय संयोजक केसीले कर्मचारीको हकहित र संस्थाको श्रीवृद्धिमा सशक्त ढङ्गबाट भूमिका खेल्दै आएका दुई सङ्गठनको एकताबाट ट्रेड युनियन आन्दोलनले ऐतिहासिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.