नेपाल–जर्मनी साझेदारीका साठी वर्ष
काठमाडौँ, २८ चैत (रासस)ः नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा ललितपुरमा १६ दिने प्रदर्शनी प्रारम्भ भएको छ ।
जर्मनीको अर्थतन्त्रमा नवीकरणीय ऊर्जाको स्थानान्तरण यात्रालाई समेटेर आयोजित ‘जर्मन ऊर्जा रुपान्तरणः जर्मनीको ऊर्जा प्रणालीमा परिवर्तन’ विषयक नवीकरणीय ऊर्जासम्बन्धी उक्त प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफेरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानको सूचना तथा प्रविधि केन्द्रमा आयोजित उक्त प्रदर्शनीमा मन्त्री पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउन नवीकरण ऊर्जा महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
आगामी पाँच वर्षभित्रमा नेपाली जनतालाई भरपर्दो ऊर्जा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेका उहाँले बताउनुभयो । नेपालको सामाजिक र आर्थिक विकासमा जर्मनीले गरेको सहयोगको मन्त्री पुनले सराहना गर्नुभयो । उहाँले मध्यमस्र्याङ्दी तथा मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणका साथै विद्युत् प्रशारण र वितरणमा जर्मनीले गरेको सहयोग नेपालका निम्ति अविष्मरणीय रहेको बताउनुभयो ।
राजदूत शेफेरले औद्योगिक विकासको बाटोमा क्रमशः उन्मुख भएको नेपाललाई नवीकरणीय ऊर्जाका क्षेत्रमा जर्मनीले हासिल गरेको दक्षता र अनुभव साट्न प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जर्मनी र नेपालबीच ऊर्जाका क्षेत्रमा साझेदारी छ, नेपालको आर्थिक विकासको मेरुदण्ड ऊर्जा क्षेत्र नै हो ।”
जर्मनीले नेपालका विभिन्न गाउँपालिका र शहरमा नवीकरणीय ऊर्जाका प्रविधिलाई प्रोत्साहन जर्मन सहयोग नियोग ‘जिआइजेड’मार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सहयोग गर्दै आएको छ ।
