नेपाली शान्ति सैनिक सुरक्षित छन : जङगी अड्डा

काठमाडौँ, २५ चैत : नेपाली सेनाले अफ्रिकी मुलुक लिबियाको त्रिपोलीमा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त मिसनमा २३१ नेपाली शान्ति सैनिक कार्यरत छन् । केही दिनदेखि लिबियामा त्यहाँको विद्रोही समूह ‘दी लिबियन नेशनल आर्मी (एलएनए)’ले आक्रमक कारवाहीलाई तीव्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेङ्घाजीमा यही अप्रिलमा वार्ता भएको थियो । उक्त वार्ताबाट निष्कर्ष ननिस्केसँगै विद्रोही नेता खलिफा हफ्तारले आफ्नो समूहलाई सैनिक कारवाहीको निरन्तरताका लागि निर्देशन दिएका थिए । लिबियाको हालको गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चासो व्यक्त गरेका छन् ।

विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई उडान निषेधित क्षेत्र घोषणा गरेको छ । यद्यपि त्रिपोलीबाट ट्युनिसियामा जाने सडक मार्ग चालू अवस्थामा नै रहेको छ । त्यहाँ तैनाथ ‘युनाइटेड नेसन सपोर्ट मिसन इन लिबिया मिसन’मा कार्यरत केही स्टाफलाई उक्त मिसनले सडक मार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसियामा पठाउने कार्य शुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिसनका प्रमुख घासन सलामेलगायत मिसनका उच्चपदस्थ पदाधिकारी हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिसन मुख्यालयमा नै रहेका छन् ।

मिसन मुख्यालय तथा मिसन मुख्यालमा कार्यरत रहेका युएनस्टाफको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.