बारको मतगणनामा पोखरेलको अग्रता
काठमाडौँ, १९ चैत : कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेले अग्रता लिनुभएको छ ।
आज राति ९ः२० बजेसम्म दुई हजार ८०० मतगणना गर्दा पोखरेलले एक हजार ४३१ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ३५३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले ९६४ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशिल समूहका सुरेन्द्रबहादुर थापाले ९०० प्राप्त गर्नुभएको छ । सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । बाँकी मत भोलि बिहान ९ बजेदेखि पुनः गणना गरिनेछ ।
पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।
