कानून व्यवसायीबीच सहकार्यको घोषणा
काठमाडौँ, ७ चैत : नेपाल बार एशोसिएनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहसँग राष्ट्रिय जनता पार्टी (राजपा) निकट र देशभक्त कानूनी व्यवसायीसँग सहकार्य गर्ने घोषणा गरेका छन् ।
बारको यही चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहसँग आज राजपा निकट राष्ट्रिय कानून व्यवसायी र देशभक्त कानून व्यवसायीले सहकार्य गर्ने घोषणा गरिएको हो । राजपाका सहायक महासचिव तथा अधिवक्ता हरेन्द्रराय यादवले आफ्नो पार्टी सरकारबाट फिर्ता भए पनि लामो समयसम्म आफूहरुले प्रगतिशील समूहसँग सहकार्य गरेर अघि बढ्दै आएको बताउनुभयो । सो समूहसँग ३५० मतदाता छन् ।
देशभक्त कानून व्यवसायीका कार्यवाहक अध्यक्ष राजकुमार थापाले चुनावी तालमेलका लागि प्रगतिशील समूह भएको बताउनुभयो । सो समूहसँग २०० मतदाता छन् । दुई कानून व्यवसायी समूहलाई प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले स्वागत गर्दै बारले न्यायपालिकाकालाई स्वतन्त्र बनाउन र व्यावसायिक बार बनाउनका लागि सो समूह विजयी हुने बताउनुभयो ।
सो चुनावी सहकार्यको घोषणासँग प्रगतिशील समूहमा ५५० मत थपिएको छ । बारको २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
