नेपाल-मलेसिया द्विपक्षीय सहयोगका विषयमा छलफल
काठमाडौँ, ४ चैत : मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाल र मलेसियाबीच राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएको छ ।
राजदूत पाण्डे र मलेसियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी जनरल राजा डाटो नर्सिवन विन जानैल अविदिनबीच भएको उक्त भेटमा नेपाली श्रमिकको हकहित, दुई देशबीचको उच्चस्तरीय भ्रमणको सम्भावना र नेपालमा लगानीका सम्बन्धमा छलफल भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा राजदूतले नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिकमा सम्पन्न भएको श्रम समझदारी (एमओएम) लागू गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो । छलफलमा राजदूत पाण्डेले उक्त समझदारीमा उल्लेख गरिएको नेपाली श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्डको व्यवस्थाअनुसार मलेसिया सरकारले यथाशक्य चाँडो काम अघि बढाएको खण्डमा नेपाली कामदारलाई मलेसिया आउन मार्ग प्रशस्त हुने बताउनुभएको थियो । उहाँले ‘कलिङ भिषा’ लागेका नेपाली कामदारलाई मलेसिया लैजाने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको थियो ।
भेटमा राजदूत पाण्डेयले यही चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुन लागेको लगानी सम्मेलनमा मलेसियाका लगानीकर्ताको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको थियो । त्यसैगरी नेपालसँग दोहोरो कर सम्झौता र लगानी सुरक्षण सम्झौतासम्बन्धी थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । भेटमा विगत लामो समयदेखि नेपाल र मलेसियाबीच उच्चस्तरको भ्रमण हुन नसकेकाले उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने विषयमा समेत छलफल भएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
