‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढ्यो
ललितपुर, ४ चैत : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छपाइँमा भएको ढिलाइ हटाउन ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) खरीद प्रक्रिया अघि बढाएको छ ।
विभागले ‘मास प्रिन्टर’ खरीदका लागि गत महीना नै ठेक्का आह्वान गरेको थियो । यसका लागि विभागमा परेका तीन वटा निवेदनको मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । तीमध्ये आवश्यक प्रक्रिया पूरा गरेर एउटा कम्पनी छनोट हुने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेकाले छिट्टै प्रिन्टर खरीद गरेर चालक अनुमतिपत्र छपाइँमा देखिएको ढिलाइ हटाइनेछ ।” विभागमा अहिले रहेको उपकरणको क्षमता पर्याप्त नहुँदा सेवाग्राहीलाई समयमा ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन नसकिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
देशभरका यातायात कार्यालयबाट निवेदन दिएका चार लाख ५० हजार अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । खरीद गर्न लागिएको नयाँ प्रिन्टरले प्रतिघण्टा पाँच सय चालक अनुमतिपत्र छपाइ गर्ने बताइएको छ ।
