शेर्पा कन्सुल कप्सको डीनमा नियुक्त
वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अनरेरी कन्सुल कप्स, नेपाल (एचसीसीएन)को नयाँ डीन नियुक्त हुनुभएको छ ।
नेपालका लागि बेल्जियमका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका शेर्पा काठमाडौँमा सम्पन्न एचसीसीएनको जनरल एसेम्लीबाट नयाँ डीनमा नियुक्त हुनुभएको हो । यसअघि नेपालका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान डीन हुनुहुन्थ्यो । नयाँ भाइस डीनमा किरण वैद्य तथा सदस्यमा श्रीराम लामिछाने र चन्द्र ढकाल हुनुहन्छ । त्यस्तै सल्लाहकारका रुपमा प्रतिमा पाण्डे, विनयमान श्रेष्ठ र हरि धरेल नियुक्त हुनुभएको संस्थाले आज विज्ञप्तिमार्फत जनाएको छ ।
परराष्ट्र मन्त्रालय र अन्य कूटनीतिक नियोगसँग निकट रहेर काम गर्ने सो संस्था सन् २००७ मा गठन भएको थियो । संस्थाका सदस्यले आफूले प्रतिनिधित्व गर्ने मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छन् । संस्थामा ४५ देशका वाणिज्य दूत सदस्य छन् । नवनिर्वाचित अध्यक्ष शेर्पाले कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन समन्वयात्मक भूमिका निर्वाह गरिने बताउनुभयो ।