नयाँ उपलब्धि हासिल गर्न पुराना त्याग्नुपर्ने : मन्त्री पण्डित

काठमाडौँ, १ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुराना कुरालाई त्याग्नुपर्ने बताउनुभएको छ ।

स्थानीय विकास पत्रकार समाजले आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना केही कुरालाई त्यागी अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशलाई आर्थिक समृद्धितिर लान आवश्यक छ, त्यसको लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । राष्ट्रसेवक कर्मचारी दुर्गम स्थानमा रहेका जनताको सेवामा जान नमान्ने गरेको भन्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र मन्त्रालयले आवश्यकताअनुसार देशको जुन कुनामा पठाए पनि तयार रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संविधानलाई सफल बनाउन र मुलुकलाई समृद्धतिर लानको लागि कर्मचारी संविधानअनुसार परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सबैले आफ्नो जिम्मेवारी पूरा गरेमात्र संविधान कार्यान्वयन हुने धारणा राख्नुभयो । आयोजक संस्थाका अध्यक्ष शिव रेग्मीले मुलुकलाई विकास र समृद्धितिर लाने हो भने स्थानीय र प्रदेश सरकारको हरेक काम कारवाहीमा सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.