राससलाई अग्रणी समाचारको केन्द्र बनाउनुपर्छ : मन्त्री बाँस्कोटा, उत्कृष्ट समाचारदातालाई सम्मान तथा पुरस्कार प्रदान

राष्ट्रिय समाचार समिति (रासस)को ५८ औँ वार्षिकोत्सव समारोहमा विभिन्न विधामा पुरस्कृत राससकर्मी सामूहिक तस्वीरमा । तस्वीर: नवीन पौडेल

काठमाडौँ, ७ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ ।

राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार सङ्कलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको भन्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाको रुपमा स्थािपत हुनुहोस्् । सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।”

मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिनुभयो ।

रासस सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।”

भारत, चीन, अमेरिका र बेल्जियममा राससका समाचारदाता राख्ने विषयलाई आफैँले नै अगाडि बढाएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले उचित नीति, योजना र कार्यक्रम बनाएर लागू गर्नसमेत आग्रह गर्नुभयो ।

अग्रणी समाचार संस्थाको रुपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयको तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उहाँको भनाइ थियो । उहाँले राससका भौतिक सम्पत्तिको बहुप्रयोगमा लगाउन समेत व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्तत समाचारको मिलका रुपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको बताउनुभयो ।

संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रुपमा भएका कमी कमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा व्यावसायिक पत्रकारको समूह बनाएर काम गर्ने योजना अगाडि सारिएको जानकारी दिँदै उहाँले प्रदेश सरकारको राजधानीबाटै तोकिएका भाषामा समेत बुलेटिन प्रकाशन गर्ने सोच अगाडि सारिएको बताउनुभयो । इतिहास रचना गरेर अगाडि जाने योजना र सोच अगाडि सारिएको भन्दै अध्यक्ष अधिकारीले सामूहिक प्रयासबाट मात्रै सफलता हासिल हुने र सकारात्मक समाचार दिन सकिने विचार व्यक्त गर्नुभयो ।

महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल रुपमा सुधार गर्दै व्यावसायिक, योग्य र अग्रणी संस्थाको रुपमा क्रमशः अगाडि बढाइरहेको जानकारी दिनुभयो । लिथोबाट शुरु भएको राससको यात्रा अत्याधुनिक अनलाइन प्रणालीमा गइसकेको र आगामी दिनमा थप परिस्कृत, मर्यादित बनाउन दत्तचित्त भएर लागिपरेको उल्लेख गर्दै उहाँले ७५३ वटै स्थानीय तहका समाचार सङ्कलन, सम्पादन र प्रसारण गर्ने योजनासमेत बनाइएको र क्रमशः कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो ।

सङ्घीयताको कार्यान्वयनसँगै प्रदेशस्तरबाटै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणको व्यवस्था मिलाइएको, भारत, चीन, संयुक्त राष्ट्र सङ्घजस्ता क्षेत्रमा समाचारदाता राख्ने प्रक्रियासमेत अगाडि बढ्न लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राससका पूर्वअध्यक्ष राधेश्याम विष्टले सत्य र तथ्यपूर्ण समाचार प्रवाहका लागि राससले नै जिम्मेवारी बहन गर्नसक्ने बताउनुभयो । उहाँले सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्न अनुसन्धान र प्रशिक्षणको खाँचो रहेको आवश्यकता औँल्याउँदै सत्य सूचना पाउने नागरिकको अधिकारको रक्षा राससबाट मात्रै हुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव शीतल महतोले नेपाली पत्रकारितालाई सुधार गर्ने हो भने राससलाई नै सबल, बलियो र अग्रणी संस्थाको रुपमा विकास गर्न सरकारले विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष नारायण घिमिरेले बदलिँदो समयानुसार राससको भूमिकालाई थप विस्तार गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले ऐन, नियम तथा कानूनी प्रबन्धलाई समयानुकूल बनाई राससको बृहत्तर हित गर्ने दायित्वलाई आत्मसात् गर्न ध्यानाकर्षण गराउनुभयो ।

रासस कर्मचारी यूनियनका अध्यक्ष कालिका खड्काले सामूहिक प्रयासबाट मात्रै संस्थाको उन्नति हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

५८ औँ वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार प्रदान

राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष सम्मान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उप–समाचारदाता नीरजकुमार गौतमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।

त्यसैगरी रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने (केन्द्रीय कार्यालय) र वरिष्ठ सवारी चालक केशव खत्री (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रमुख समाचारदाता तीर्थ भट्टराई (केन्द्रीय कार्यालय) र उप–व्यवस्थापक रामलाल श्रेष्ठ (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५०० रहेको छ । इमानदारीपूर्वक कार्य गरेबापत कार्यालय सहयोगी ज्ञानु तिमिल्सिनालाई सम्मान गरिएको छ ।
यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ उदयपुर जिल्लाका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) हरिकुमार राईलाई प्रदान गरिएको छ ।

उत्कृष्ट जिल्ला समाचारदाताकातर्फ प्रदेश नं ३ का कृष्णराम परियार (मकवानपुर) र काठमाडौँ उपत्यकाकी मीना घोरसाइने (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेखतर्फ प्रदेश नं ३ का आदित्य दाहाल (काठमाडौँ), काठमाडौँ उपत्यकाका समाचारदाता रमेश लम्साल र सिवी अधिकारी (काठमाडौँ) र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं (काठमाडौँ) पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी उत्कृष्ट फोटोतर्फ प्रदेश नं ३ का फोटोपत्रकार नवीन पौडेल (काठमाडौँ), उत्कृष्ट श्रव्यतर्फमा केन्द्रीय कार्यालय (प्रदेश नं ३) का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने (काठमाडौँ) ले पुरस्कार प्राप्त गर्नुभएको छ ।

राससमा २० वर्ष अविछिन्न रुपमा स्थायी सेवा पूरा गर्नु हुने लेखा शाखा प्रमुख रुद्रमणि अधिकारी (केन्द्रीय कार्यालय), प्राविधिक शाखा प्रमुख धीरेन्द्रकुमार दत्त (केन्द्रीय कार्यालय) र वरिष्ठ सम्पादक मोहिनी रिसाल (केन्द्रीय कार्यालय) लाई दीर्घसेवा तथा पुरस्कार प्रदान गरिएको छ ।

राज्यको एकमात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.